नेप्से १४ सय बिन्दु टेक्यो



नेपाल समाचारपत्र, काठमाडौं। 
अघिल्लो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार भने झिनो अंकले सुधार भएको छ। यस दिन नेप्सेमा १ दशमलव ७७ अंकले वृद्धि भई १४०० दशमलव शून्य १ बिन्दुमा पुगेको हो। कुल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर २ अर्ब १२ करोड ५९ लाख ७७ हजार रुपियाँमा कारोबार भएको थियो।
मंगलबार नेप्सेमा कारोबार भएका समूहमध्ये पाँच समूहको मात्रै परिसूचक सुधारिएको छ भने बाँकी सात समूहको परिसूचकमा गिरावट आएको छ। यस दिन बैंकिङ समूह ७ दशमलव ५३, व्यापार समूह २ दशमलव ९५, विकास बैंक समूह १४ दशमलव ५५, उत्पादन समूह ३० दशमलव ७५ र सामूहिक लगानी कोष शून्य दशमलव २ अंकले बढ्दा होटल समूह ३३ दशमलव २६, जलविद्युत् समूह १७ दशमलव ६२, वित्त समूह ५ दशमलव ८५, निर्जीवन बीमा समूह ११ दशमलव १५, अन्य समूह २ दशमलव ३५, लघुवित्त समूह १३ दशमलव १ र जीवन बीमा समूह ४५ दशमलव ९३ अंकले घटेको छ।
यस दिन सेन्सेटिभ परिसूचक पनि १ दशमलव शून्य ९ अंकले वृद्धि भई २९४ दशमलव ९५ बिन्दुमा पुगेको छ। त्यस्तै कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक अगाडि रहेको छ। सो बैंकको १० करोड ६५ लाख रुपियाँको कारोबार भएको छ भने एनएमीब बैंकको ९ करोड ५९ लाख, हिमालयन डिस्टिलरीको ९ करोड १४ लाख रुपियाँको शेयर किनबेच भएको छ।
त्यसैगरी मंगलबार कालिका लघुवित्त, घलेम्दी जलविद्युत्, साइन रेसुंगा डेभलपमेन्ट बैंकलगायतका कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाउँदा लक्ष्मी लघुवित्त वित्तीय संस्था, पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्