नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रूपमा प्रचार गर्दै सरकार 


नेपाल समाचारपत्र, काठमाडौं।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सरकारले नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्ने तयारी शुरू गरेको छ। अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा श्रब्य दृष्य सामग्री तयार पारी सम्प्रेषित गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।
कोरोना भाइरस र यसका कारण नेपालको पर्यटन उद्योगमा पारेको प्रभावबारे मन्त्रालयले मंगलबार आन्तरिक छलफल गरेको थियो। छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तीन दिनभित्र नेपाल ‘कोरोना भाइरस फ्रि जोन’ हो भन्ने सन्देश बोकेको श्रब्यदृष्य सामग्री अन्तर्रा्ष्ट्रिय जगतमा सम्प्रेषणको व्यवस्था मिलाउन निर्देशन दिनुभयो। यस्ता सामग्रीलाई मन्त्रालय, विदेशस्थित नेपाली नियोग, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, पर्यटनसम्बद्ध निजी क्षेत्रका वेवसाइट र सामाजिक सञ्जालमासमेत राखिने भएको छ।
छिमेकी मित्रराष्ट्र चीनले सामना गरिरहेको वर्तमान संकटप्रति नेपालको पूर्ण साथ सहयोग तथा ऐक्यवद्धता व्यक्त गर्दै यस संकटबाट चीन शीघ्र पार हुने र त्यसपछि चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल तयार छ भन्ने श्रब्यदृष्य सामग्री समेत सम्प्रेषित गरिने भएको छ। यस्ता सामग्री चिनियाँ भाषामै तयार पारी ७ दिनभित्र चिनियाँ सञ्चारमाध्यम तथा चीनस्थित नेपाली नियोगमार्फत सम्प्रेषणको व्यवस्था मिलाउन मन्त्री भट्टराईले निर्देशन दिनुभयो।
वर्तमान संकटपछि नेपालको पर्यटन प्रवर्द्धनका लागि वैकल्पिक बजारको खोजी गर्नुपर्ने निश्कर्षमा समेत सरकार पुगेको छ। सोही प्रयोजनका लागि नेपालको पर्यटन स्रोत बजारलाई लक्षित गरी क्षेत्रगत रुपमा १२ वटा प्रवर्द्धनात्मक ‘डेस्क’ खडा गरिने भएको छ। प्रत्येक डेस्कमा बोर्ड, सचिवालय र निजी क्षेत्रबाट १/१ जनाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउने सरकारको तयारी छ।