नेपाल समाचारपत्र, काठमाडौं।
ललिता निवास प्रकरणलाई लिएर नेपाली कांग्रेसले नेकपाका महासचिव विष्णु पौडेलमाथि कटाक्ष गरेको छ। कांग्रेसका सांसद गगन थापाले मंगलबार प्रतिनिधिसभाको बैठकमा स्वस्थानी व्रतकथाको शैलीमा बालुवाटारको ललिता निवास जग्गा प्रकरणमाथि व्यंग्य गर्नुभयो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महासचिव पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाउने निर्णय गरेकामा व्यंग्य गर्नुभएको हो। संसद्को शून्य समयमा आफ्नो धारणा राख्दै तीस सेकेन्ड छोटा भनाइमा महासचिव पौडेलको नाम लिँदै भन्नुभयो– ‘चोरीको सामान सकेसम्म लोकले थाहा नपाउने गरी किन्नू, थाहा पाए होइन होइन भन्नु र चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए चोरीको सामान फिर्ता गर्नू।’
थापाले बोलिरहँदा सभामुख अग्नि सापकोटाले चासोपूर्वक सुन्नुभएको थियो।
थापाले संसद्मा कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि भन्ने वाक्यांशबाट आफ्नो भनाइ शुरू गर्दै भन्नुभयो– ‘चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुईपटक विष्णु विष्णु भन्नू।’
‘त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नू र चारपटक विष्णु विष्णु भन्नू र त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्नेछैनन्’ –उहाँले व्यंग्य गर्दै भनुभयो।
अन्तिममा थापाले भन्नुभयो– ‘इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी व्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय।’
थापाले सदनमा बोलिरहँदा महासचिव पौडेल भने सहभागी हुनुहुन्थेन। पार्टीको कार्यक्रममा कर्णाली प्रदेशमा रहेकाले थापाको व्यंग्य भने पौडेलले सदनमा सुन्न परेन।
थापाले व्यंग्यात्मक रुपमा कटाक्ष गरिरहँदा कांग्रेसका सांसद मात्र होइनन्, नेकपाका सांसदहरूले समेत हाँसो थाम्न सकेनन्। ललिता निवास प्रकरणमा जोडिएका कोही व्यक्तिमाथि अदालतमा मुद्दा दायर हुने र कोहीलाई छुट दिएको भन्दै कांग्रेसले अख्तियारको कार्यशैलीप्रति प्रश्न गर्दै आएको छ।
सैनिकसहित विभिन्न विधेयक पेस
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्गै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको ‘सैनिक (पहिलो संशोधन) विधेयक, २०७६’ पेस गर्नुभएको छ। उहाँले नेपालको संविधानबमोजिम सेनालाई थप लोकतान्त्रिक र सुव्यवस्थित बनाउन विधेयकले मार्गप्रशस्त गर्ने विधेयक पेस गरेको बताउनुभयो।
महराको निलम्बन फुकुवा
प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौं जिल्ला अदालतको फैसलाबाट थुनामुक्त भएको जानकारी गराइयो।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जिल्ला अदालत काठमाडौंको यही फागुन ५ गतेको फैसलाबारे सदनलाई जानकारी गराउनुभएको हो। बैठकलाई जानकारी दिइएपछि सांसद महराको निलम्बन फुकुवा भएको छ।
प्रतिक्रिया