निफमा बुलबुललाई डबल ह्याट्रिक

0
Shares

राजधानीमा सम्पन्न ५ दिने नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा विनोद पौडेल निर्देशित फिल्म बुलबुलले डबल ह्याट्रिक गरेको छ।
फेस्टिभलमा बुलबुलले नेपाल पनोरमाको फिचरतर्फ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उकृष्ट अभिनेत्री, जुरी अवार्ड पुरुष र महिला गरी ६ विधाको अवार्ड चुमेको हो।

फिल्मबाट विनोद पौडेलले पटकथा र निर्देशक अवार्ड जितेका छन् भने स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड जितेकी थिइन्। त्यसै गरी जुरी अवार्ड पुरुष र महिलातर्फको अवार्ड मुकुन भुसाल र लक्ष्मी बर्देवाले जितेका छन्। बुलबुललाई पछ्याउँदै गोपीले तीन अवार्ड जितेको छ। गोपीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड पायो भने विपीन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। त्यसै गरी छायाकार शेलेन्द्र डि कार्कीको छायांकनलाई पनि प्रकाश झा मुख्य निर्णायक रहेको जुरीले उत्कृष्ट ठह¥याएको छ।

कार्यक्रममा नेपाली सर्ट फिल्मतर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित जुनुको जुत्ताले पायो भने इन्टरनेसनल सर्ट फिल्मतर्फको जुरी मेन्सन अवार्ड युक्रेनको अन्नाले पाएको छ। नेपाली सर्ट फिल्मतर्फको अवार्ड प्रवीणकुमार राउत निर्देशित कलमले जितेको छ। प्रवीण स्वयं पनि जुरीको नजरमा उत्कृष्ट ठहरिएका थिए। सर्ट फिल्म तर्फको जुरी मेन्सन अवार्ड श्रीलंकाको द अदर हाफले पाएको छ।

त्यसै गरी बहुपति प्रथाको कथा समेटिएको गणेश पाण्डे निर्देशित को हस्बेन्ड डकुमेन्ट्री विधातर्फ उत्कृष्ट ठहरिएको छ। माउन्ट एभरेस्ट अवार्ड नाम दिएको यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेको थियो। यही वर्षबाट थपिएको एनिमेटेड विधाको अवार्ड भने चीनको स्प्रिट अफ द ड्रइङ गर्लले पायो। मञ्जुश्री अवार्ड नाम दिएको यो पुरस्कारको राशी ७ सय अमेरिकी डलर रहेको छ।

अन्तर्राष्ट्रिय सर्ट फिल्मको विधातर्फ भारतीय फिल्म नुरी उत्कृष्ट मानियो। फिल्ममा भारत–पाकिस्तान बोर्डरमा चेपिएकी एक युवतीको कथा थियो। बाग्मती अवार्ड नाम दिइएको यो पुरस्कारको राशी ५ सय अमेरिकी डलर रहेको छ।

समारोहको सबैभन्दा ठूलो पुरस्कार गौतम बुद्ध अवार्ड टर्कीको ट्र्यापले पायो। जितसँगै फिल्मले १ हजार ५ सय अमेरिकी डलर पायो। फिचर फिल्मतर्फका मुख्य जुरी प्रकाश झाले नेपालका फिल्मसँगको यो पहिलो साक्षात्कार भए पनि नेपाली फिल्मको न्यारेटिभ प्रतिस्पर्धात्मक बनिरहेको अनुभव गरेको बताएका थिए। उनले नेपालसँग फिल्मका जुनसुकै विधामा सहकार्य गर्न तयार रहेको बताए।

फेस्टिबलमा फिचर फिल्मतर्फको निर्णायकको नेतृत्व प्रकाश झाले गरेका थिए भने उनलाई मञ्जुकुमार श्रेष्ठ, गौरी मल्ल, जाओ पाउलो मकाइदो र थिबाउट ब्राक निर्णायक थिए। श्रीलंकाका डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणाले नेतृत्व गरेको डकुमेन्ट्री विधातर्फको जुरी सदस्यमा करुण थापा र युनी हाडी सदस्य थिए। फेस्टिभल नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गरेको हो।