पाकिस्तान संसद्मा काश्मिर मुद्दामा अर्दाेगानको सम्बोधन, भारतद्वारा कडा आपत्ति

0
Shares

नयाँदिल्ली/इस्लामावाद, (एजेन्सी)।

टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानको भारत प्रशासित काश्मिर मामिलामा दिएको बयानलाई लिएर भारतले कडा आपत्ति जनाएको छ।
भारतले सोमबार टर्की अधिकारीसमक्ष आफ्नो असन्तुष्टी व्यक्त गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ। भारतीय विदेश मन्त्रालयले अर्दोगानको बयानले उनलाई इतिहासको जानकारी नभएको र राजनीतिक मर्यादाको पनि बुझाइ नभएको जनाएको छ।

टर्कीका राष्ट्रपतिको बयान वर्तमानको संकुचित मानसिकतालाई प्रोत्साहन दिनका लागि विगतको घटनालाई बिगारेर पेश गर्नु रहेको विदेश मन्त्रालयले जनाएको छ। शुक्रबार पाकिस्तानी संसद्लाई सम्बोधन गर्दै अर्दोगानले भनेका थिए– ‘हाम्रो काश्मिरी दाजुभाइ दिदीबहिनी दशकौंदेखि पीडित छन्।’ हामी काश्मिर मामिलामा फेरि एकपटक पाकिस्तानको पक्षमा छौं। हामीले यो मुद्दालाई संयुक्त राष्ट्रको आमसभामा उठाएका थियौं। काश्मिर मुद्दा युद्धबाट सल्टानउन सकिँदैन। यसलाई न्याय र निष्पक्षताबाट सल्टाउन सकिन्छ। यस प्रकारको समाधान सबैको हितमा हुनेछ। टर्की न्याय, शान्ति र संवादको समर्थन गरिरहनेछ।

अर्दोगानले काश्मिरको मुद्दामा बोल्न शुरू गरेपछि पाकिस्तानी संसदमा ताली पिटेर स्वागत गरेको थियो। पाकिस्तानी सांसदमा लामो समयसम्म सांसदहरु टेबल ठोकिरहेका थिए। अर्दोगानले काश्मिरहरुलाई कहिल्यै विर्सन नसक्ने बताएका थिए।