व्यवसायमा सफलताको रहस्य


व्यापार, व्यवसाय, औद्योगिक क्षेत्रमा सफलता हासिल गर्नका लागि विभिन्न तरिकाहरू अपनाउन सकिन्छ। हामी कुनै पनि काम गर्नका लागि उपयुक्त अवसर खोजिरहेका हुन्छौं। तर कुनै पनि काम गर्नका लागि वा कुनै पनि उत्पादन पस्कनका लागि जहिले पनि अवसरले पर्खिरहेको हुन्छ। बजारमा अरू उत्पादनसँग गुणस्तरमा त प्रतिस्पर्धा गर्नुपर्छ नै, मूल्यसँग पनि। यदि सोही गुणस्तरको, सोही मात्राको कुनै पनि उत्पादन सस्तो मूल्यमा उपलब्ध हुन्छ भने उपभोक्ताले तपाईंको सामग्री नै खोज्नेछन्। किनभने उपभोक्ताको लागि मूल्यको पनि महत्व हुन्छ।
ठूला कम्पनीले आफ्नो उत्पादन बजारमा उतारेसँगै विज्ञापनमा अधिक खर्च गर्छ। पेपर एड, ब्रोडकास्ट एडदेखि होर्डिङ बोर्ड राख्नमा समेत लाखौं, करोडौं खर्च गर्छन्। हामीलाई थाहा भएकै हो, उक्त खर्च उपभोक्ताको खल्तीबाटै पूर्ति गरिने हो। तर तपाईंले आफ्नो सामग्रीका लागि अनावश्यक विज्ञापन गर्नुभएन भने व्ययभार बढ्दैन। फलतः उचित मूल्यमा आफ्नो उत्पादन उपभोक्तामाझ पु¥याउन सकिन्छ।
कुनै पनि उत्पादन गुणस्तरीय छ र मूल्य पनि तुलनात्मकरूपमा सस्तो छ भने त्यसलाई उपभोक्ताले खोजेरै खरिद गर्छन्, विज्ञापनको जरुरत छैन। आफ्नो उत्पादनको बजारीकरण वा सफलताका लागि तपार्इं उपभोक्तामैत्री हुनु आवश्यक देखिन्छ।
यदि उपभोक्ताको हित र फाइदा सोच्नुभयो भने स्वतः सफल हुन्छ। उपभोक्ताबाट जति सक्दो लिने होइन, उनीहरूलाई दिने हो। गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउने हो भने उपभोक्ता मारमा पर्दैनन्। सबै उपभोक्तालाई थाहा हुन्छ कि जहाँ सामानको धेरै प्रचारप्रसार हुन्छ त्यो सामान साँच्चिकै राम्रो हुँदैन भनेर। त्यसैले यदि तपाईंलाई आफ्नो व्यापार व्यवसाय बढाउनु छ भने प्रचार होइन उपभोक्ताको माग र फाइदालाई ध्यानमा राख्नुहोस्। यसो गर्दा तपाईं व्यापारमा सफल बन्न सक्नुहुन्छ।
– सुस्मिता प्रजा, रोराङ, धादिङ।