वुहानबाट ल्याइएका नेपाली परीक्षणको क्रममा


पुष्कर बुढाथोकी, भक्तपुर । 

कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट १ सय ७५ नेपालीलाई नेपाल ल्याइएको छ।

उनीहरूलाई आइतबार बिहान ल्याई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको छ। वुहानका नेपाली लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान दुई चिकित्सक, दुई नर्स गरी चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेकर, एक इन्जिनियर, एक प्राविधिक, एक डिस्पास्चर गरी १७ जनाको टोली शनिबार चीन गएको थियो।

चीनको वुहानबाट ५५, झिङझाओबाट ४८, सियनबाट २९, इन्सीबाट २६, जिङमेनबाट ९ र यिचाङबाट ८ गरी १ सय ३४ जना पुरुष र ४१ जना महिलासहित १ सय ७५ नेपालीलाई ल्याइएको हो। नेपाल आउन तयारी अवस्थानमा चीनको वुहान एयरपोर्टमा आएकामध्ये ६ जनाको शरीरमा ३७ दशमलव ३ डिग्री सेल्सियसभन्दा माथि तापक्रम देखिएपछि चीन सरकारले नै नेपाल पठाएको छैन भने चार जनाले चीनमा बस्ने इच्छा देखाएकाले ल्याइएको छैन।

ल्याइएकामा १ सय ७० विद्यार्थी, एक कामदार तथा पर्यटक र बालबालिका दुई–दुईजना रहेका छन्। नेपालीलाई लिन शनिबार दिउँसो नेपाली सेनाका ४ डाक्टरसहित १७ जनाको टोली वुहान गएको थियो। उनीहरूलाई त्यहाँ १५ दिनसम्म क्वारेन्टाइनमा राखिने डा.पाण्डेले बताउनुभयो।
चीनबाट विमान चढ्नुअघि स्वास्थ्य परीक्षण गरिएका उनीहरूको काठमाडौं त्रिभुवन विमानस्थलमा अवतरण भएपछि पनि स्वास्थ्य जाँच गरी कुनै समस्या नदेखिएपछि उक्त क्वारेन्टाइनमा पु¥याइएको थियो।

उनीहरूलाई पाँचवटा गाडीमा राखेर सीधै स्थापित क्वारेन्टाइनमा लगिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिनुभयो।

जस्ताले बारिएको उक्त क्वारेन्टाइनमध्ये दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी राखिएको छ।

पाइलट, को–पाइलट, परिचारिका र सफाइ गर्ने स्विपरलाई चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित खानेपानी तालिम केन्द्रको अर्को क्वारेन्टाइनमा रहने व्यवस्था गरिएको छ।

विमानस्थलमा परीक्षणका क्रममा सबैको स्वास्थ्य राम्रो देखिएको छ। क्वारेन्टाइनमा रहेका सबैको हरेक दिन दुईपटक ज्वरो नाप्ने काम हुनेछ। यसका लागि छुट्टाछुट्टै थर्माेमिटरको व्यवस्था गरिएको छ। स्वास्थ्य मन्त्रालयबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले २४ घन्टाभित्र थ्रोट स्वाब (घाँटीको ¥याल) को नमुना झिकेर प्रयोगशालामा पठाएको छ। उनीहरूको रगत, ¥याल र खकार पनि परीक्षण गरिनेछ। १४औं दिनमा पनि ¥यालको नमुना परीक्षण हुनेछ।
खरिपाटीको क्वारेन्टाइनमा भने नेपाली सेनाका क्याप्टेन डा.नवीन फँुयालको नेतृत्वमा नर्ससहितको स्वास्थ्य टोली खटिएको छ।

यसैबीच क्वारेन्टाइनबाट करिब ३ सय मिटर पूर्वतर्फ रहेको सामुदायिक भवनमा स्थानीय बासिन्दाका लागि पनि निःशुल्क स्वास्थ्य जाँच केन्द्रको व्यवस्था गरिएको छ। त्यहाँ भक्तपुर अस्पतालका एकजना डाक्टर र एक नर्स खटिने भएका छन्। बिहान ९ बजेदेखि ३ बजेसम्म एम्बुलेन्सको व्यवस्था गरिएको छ।
चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले भने खरिपाटीमा क्वारेन्टाइन राखिएकोमा असन्तुष्टि जनाउनुभएको छ।