‘प्रतिदिन करिब ६ किलोमिटर सडक कालोपत्र भइरहेको छ’ : प्रधानमन्त्री ओली

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै सरकार दुई वर्षसम्म चल्नुलाई पनि उपलब्धिका रूपमा लिनुपर्ने बताएका छन् । शनिबार बसिरहेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

ओलीले भने, ‘एउटै सरकार दुई वर्ष चल्दा पनि उपलब्धिका रूपमा लिनुपर्दो रहेछ,’ । सरकार बनेको पहिलो वर्ष कानुन निर्माणमा ध्यान दिएको र दोस्रो वर्षलाई विकास आरम्भ वर्षको रुपमा लिएको उनले बताए । ‘दोस्रो वर्षलाई विकास आरम्भ वर्षको रूपमा लिएका छौं,’ उनले भने । गरिबी निवारण र रोजगारी वृद्धिमा सरकार अघि बढिरहेको ओलीले बताए।

यस्तै, पूतिदिन करिब छ किलोमिटर सडक कालोपत्र भइरहेको उनले बताएका छन् । ‘प्रतिदिन करिब छ किलोमिटर सडक कालोपत्र भइरहेको छ। सरकार बनेपछि तीन हजार छ सय ३६ किमी सडक कालोपत्र भएको छ,’ ओलीले भने।

आफ्नो सरकार आएपछि तीन हजार किलो मिटर भन्दा बढी सडक गाभ्रेल भएको उल्लेख गर्दै तीन सय २५ वटा पुल निर्माण भएको ओलीले दाबी गरे । चालु आर्थिक वर्षमा मात्रै ४१ पुल बनेको प्रधानमन्त्रीले बताए ।

त्यस्तै, देशभरका तुइन हटाइने जनाउदै एक सय ३० भन्दा बढी तुइन रहेकोमा अहिले डेढ दर्जन तुइन विस्थापित गरी पुल निर्माण कार्य भइरहेको ओलीले बताए।