‘विकास र समृद्धि’ सरकारको कार्यसूची हो: मुख्यमन्त्री राई

0
Shares

खोटाङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘विकास र समृद्धि’ वर्तमान सरकारको एकमात्र मूल एजेन्डा भएको बताउनुभएको छ । मुख्यमन्त्री राईले विकास र समृद्धिको मूल एजेन्डाको केन्द्रविन्दुमा उभिएर समृद्धि र सुशासन पस्किने सरकारको एकमात्र लक्ष्य रहेको बताउनुभयो ।

खोटाङको दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आयोजना गरिएको दशदिने ‘प्रथम खोटाङ दिक्तेल महोत्सव’ आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले अब जनताको एकपछि अर्को आकाङ्क्षा पूरा हुँदै जाने बताउनुभयो । “हाम्रो अर्को उद्देश्य छैन । अर्को कार्यसूची छैन । अबको हाम्रो एकमात्र कार्यसूची भनेको विकास र समृद्धिको प्रतिफल पस्किने हो”, उहाँले भन्नुभयो, “एकमात्र विकास र समृद्धिको एजेन्डामा केन्द्रित भएर देशलाई समृद्ध देश बनाउनु छ । हामीले बलियो र सुन्दर देश बनाउनु छ ।”

मुख्यमन्त्री राईले प्रदेश सरकारले प्रदेश भित्रका हरेक पालिका–पालिका र पालिका–सदरमुकाम जोड्ने सडकलाई हिउँद वर्षा सञ्चालन गर्नेगरी स्तरोन्नतिको तयारी गरिरहेको जानकारी दिनुभयो । “अहिले वडा–वडामा सडक पुगेको छ तर त्यो सडक हिउँदमा मात्र सञ्चालन हुन्छ । १ नं प्रदेशमा एक पालिकाबाट अर्को पालिका, सदरमुकाम वा प्रमुख बजार जोड्ने सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउने गरी प्राथमिकतामा राखेर कामलाई अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “प्रत्येक नेपालीको घरमा उज्यालो पु¥याउनु छ । स्वच्छ पिउने पानीको पहुँचले जोड्नु छ । सिँचाइको सुविधाले जोड्नु छ, गुणस्तरीय शिक्षा र स्वास्थ्यको पहुँचबाट जोडेर जनतालाई समृद्धिसँग जोड्नु छ ।”

मुख्यमन्त्री राईले स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारबाट सञ्चालन भइरहेका बजेटको पारदर्शिताका विषयमा खबरदारी गर्न जिल्लावासीलाई आग्रहसमेत गर्नुभयो ।

आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने महोत्सव उद्घाटन कार्यक्रममा सांसद विशाल भट्टराई, प्रदेशसभा सदस्यहरु रामकुमार राई ‘पासाङ’, राजन राई, उषाकला राई, संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ तथा जिल्लास्थित दशवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, राजनीतिक दलका नेता लगायतको उपस्थिति थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजना गरिएको महोत्सवमा स्थानीय कृषि उपज, जडीबुटी, हस्तकला, राष्ट्रिय कृषि प्रविधि, औद्योगिक उत्पादन, बैंक तथा वित्तीय संस्था र सेवा, अटोमोबाइल, सवारीसाधन, फूल, गार्मेन्टलगायत विभिन्न प्रकारका १२० कक्ष रहेको आयोजक खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो ।

‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक समृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने नारासाथ महोत्सवले जिल्लाको आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडीबुटी बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्य राखिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रवद्र्धनमा आयोजना गरिएको महोत्सवमा आदिवासी जनजातिको सांस्कृतिक वेशभूषा प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, कृषिजन्य वस्तुको प्रतियोगितात्मक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान तथा विविध मनोरञ्जनात्मक कक्ष, जातीय खानाका मौलिक परिकारको बिक्री तथा प्रदर्शनीलगायत महोत्सवको प्रमुख आकर्षण हुने वाणिज्य सङ्घका महासचिव मनोज बजिमयले बताउनुभयो ।

जिल्लामै पहिलोपटक आयोजना गरिएको महोत्सवले एउटै थलोमा विभिन्न व्यवसायी बीचको जमघट हुने भएकाले सिक्ने र सिकाउने अवसर प्राप्त हुने र व्यवसायीबीच सञ्जाल स्थापना हुने दाबी गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकामा रहेको त्रि–धार्मिकस्थल हलेसी तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र रहेका धार्मिक, सांस्कृतिक र पर्यटकीयस्थलको प्रचार–प्रसार गरी व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउने, जिल्लामा भएका पर्यटन, सिमेन्ट, जलविद्युत्, जडीबुटी, वन पैदावारलगायत जानकारी गराएर लगानीको अवसर सिर्जना गर्ने, निकासीयोग्य वस्तुको पहिचान र प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका आधुनिक प्रविधि, वस्तु एवम् सेवाको बृहत् प्रदर्शनी गरी व्यापक प्रचार–प्रसार गर्ने, अवलोकन गराएर जानकारी गराउने, वस्तु उत्पादनका प्रविधिको क्षेत्रमा भएका नयाँ–नयाँ उपलब्धिलाई जनमानसमा प्रस्तुत गर्ने, जिल्ला तथा जिल्ला बाहिरका व्यवसायीबीच व्यापार सम्बन्ध बढाउने लगायतका लक्ष्य राखिएको आयोजकले जनाएको छ । महोत्सवको अवधिमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसमेत रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवको माध्यमबाट पर्यटनसम्बन्धी प्रचारप्रसार हुँदा जिल्लाका होटल, लजलगायत सेवामूलक उद्योग–व्यवसाय फस्टाउनमा योगदान पुग्ने अपेक्षा गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “निराशाजनक अवस्थामा रहेको जिल्लाको व्यावसायिक क्षेत्रलाई नयाँ सिराबाट प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “नगरपालिकाको प्रवद्र्धनमा आयोजना गरिएको महोत्सवले जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दै स्थानीय उत्पादन, जडीबुटी, वनपैदावार, हस्तकलाको बजार प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।”

महोत्सवको अवसर पारेर अहिले दिक्तेलबजार बेहुली झँै सिङ्गारिएको छ । महोत्सवको अवसर पारेर जिल्ला भित्रिएका पाहुनाले दिक्तेलबजारमा सञ्चालित होटल तथा रेष्टुरेन्ट भरिभराउ भएको छ ।