धार्मिकस्थलमा सरकारी हस्तक्षेपको विरोध

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

प्रहरीले माघ २४ गते बिहानै हातहतियारसहित विनासूचना बोधि श्रवण धर्म संघको आस्थाको केन्द्र मन्दिरमा गरेको हस्तक्षेपप्रति विरोध जनाएको छ। संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गम्भीर आपत्ति जनाएको हो।

पवित्र मन्दिरको भित्री मूलद्वारको तालासमेत तोडफोड गरी कमान्डो शैलीमा हातहतियारसहित गाडीहरू लिएर प्रवेश गरेको र शान्त तथा शालिन मैत्रीय वातावरण र धार्मिक आस्थामाथि छालाको जुत्तासहित अमिलो र बिजाउने शब्दहरूको प्रयोग गर्दै अभद्रता प्रदर्शन गरेको भन्दै संघले यस्तो क्रियाकलापको निन्दा गरेको हो।

यस्तो कार्य संवैधानिक, लोकतान्त्रिक, मानवीय मूल्य मान्यता र देशको आचारसंहिताविपरीत भएको संघका अध्यक्ष निलबहादुर थिङले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। एउटा धार्मिक समुदायमाथि नेपाल सरकारको पूर्वाग्रहपूर्ण हस्तक्षेप र व्यवहारले आफूहरूलाई अत्यन्त मर्माहत बनाएको पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो।

आफू संविधान प्रदत्त हकअधिकारको परिधिभित्र रहेर राष्ट्रनिर्माणमा कहीं कतै अर्घेल्याइँ नगरी स्थायित्व, सहजीवन र सहकार्यमा योगदान पुर्याउने ध्येयकासाथ लामबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
तर, संविधान र आचारसंहिताले निर्धारण गरेको नियम विधि र प्रक्रियाको ठाडो उल्लंघन गरी धार्मिक स्थलमा कमान्डो शैलीको हतियारधारी प्रहरी प्रवेश तथा खानतलासीले देशमा न्यायको अवस्था कस्तो छ भन्ने कुरामा गम्भीर बनाएको संघले विज्ञप्तिमा उल्लेख गरेको छ। न्याय र न्यायोचित विधि, प्रक्रिया र व्यवहारप्रति संघले प्रतिबद्धता पनि जनाएको छ। सधैं मैत्रीय व्यवहार र आचरणको बाटोका रहेको संघलाई कमजोरीको रूपमा नलिन संघले सरकारलाई आग्रह गरेको छ।

संघको मन्दिरमा प्रहरी तैनाथ गरी हालसम्म पनि त्रसित वातावरण कायम राखेको भन्दै तत्काल प्रहरी फिर्ता गर्न सरकारसँग संघले माग गरेको छ। संघले कमलामाई–८ पैरे, सिन्धुलीको धार्मिकस्थलमा भएको अभद्र व्यवहारबाट विकसित परिस्थितिबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउनेसमेत पत्रकार सम्मेलनमा जानकारी दिएको छ।