साधारण तारेखमा छुटे प्रसाईं

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई अभद्र व्यवहार गरेको अभियोग लागेका झापास्थित बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सुटुक्क हाजिर भएर छुटेका छन्।जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका उनलाई साधारण तारेखमा छाड्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आदेश दिनुभएको थियो। प्रजिअ पाण्डेले उनका बारेमा अन्तिम निर्णय नभएसम्मका लागि साधारण तारेखमा छाडिएको बताउनुभयो।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख सविन प्रधानका अनुसार प्रहरीले आइतबार जिल्ला सरकारी वकिललाई प्रसाईंविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो। त्यसपछि सरकारी वकिल कार्यालयले जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेको थियो। भक्तपुरका प्रहरी प्रमुख प्रधानका अनुसार प्रसाईंले मंगलबार प्रशासन कार्यालयमा गएर बयान दिएका छन्।

प्रशासनले प्रसाईंको बयानपछि उनलाई साधारण तारेखमा छोड्ने आदेश दिइएको हो। प्रसाईंलाई एक महिना खोज्दा पनि भेटिएको थिएन। २० करोड घूस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध आयोगका उपाध्यक्ष डा. गिरीले मानहानीको मुद्दा हालेका थिए। प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा गिरीले उजुरी दिएका थिए।

तर यसमा प्रसाईं साधारण तारेखमा छुटेको बारे आफूलाई प्रशासनले केही थाहा नदिएको र थाहा नभएको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रतिकृया दिनुभयो। गिरीले आफ्नोतर्फबाट प्रसाईंविरुद्धको कानुनी र प्रशासनिक लडाईं जारी रहेको बताउनुभयो।अभद्रकै मुद्दामा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट पक्राउ गर्ने अनुमति पाए लगत्तै प्रहरी प्रसाईंको भक्तपुरस्थित निकोसेरानजिकको निवासमा पुगेको थियो।

तर उनी घरमा हालसम्म नभेटिएको प्रहरीको भनाइ थियो। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलनिकट मानिएका उपध्यक्ष गिरीले पनि पत्रकार सम्मेलन नै गरेर प्रसाईंको आरोप खण्डन गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए। प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई गत २ माघमा अभद्र व्यवहार कसुरमा पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

उनले चिकित्सा शिक्षा ऐन जारी भएर आयोग गठन भइसक्दा पनि पूर्वाधार पूरा गरेको मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै असन्तुष्टि जनाएका थिए। गत मंसिर १५ मा प्रसाईं सम्बन्धनका लागि निवेदन लिएर आयोग कार्यालय पुगेका थिए। गिरीले आवश्यक कागजातसहित सम्बन्धनका लागि आवेदन दिन आग्रह गरेपछि उनीहरूबीच विवाद शुरु भएको हो।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मान हानीको मुद्दा हालेपछि प्रसाईंले गिरीविरुद्ध मुद्दा फिर्ता लिन धम्की दिनुका साथै कुटपिटसम्म गर्ने चेतावनी दिएपछि गिरीले अभद्र व्यवहारको जाहेरी दिएका थिए।

मानहानीको मुद्दाका बारेमा काठमाडौं जिल्ला अदालतले पनि प्रसाईंलाई २१ दिनभित्र उपस्थित हुन आदेश दिएको थियो। अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार २१ दिनभित्र आफ्नो कुरा भए लिखित रूपमा अदालतसमक्ष राख्न आदेश दिइएको हो। जिल्ला प्रशासनले पक्राउ गर्न अनुमति दिएको यति दिनसम्म पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन।
प्रसाईंले भने १० माघमा जिल्ला प्रशासन कार्यालय भक्तपुरको पक्राउ पुर्जीविरुद्ध वारेसमार्फत् सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

पक्राउ आदेश रोक्न माग गर्दै रिट दायर भए पनि सर्वोच्चले पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थिएन। सर्वोच्चले १५ दिनभित्र भक्तपुर जिल्ला प्रशासनलाई पक्राउ पुर्जी जारी गर्नुपर्ने कारणसहित लिखित जानकारी दिन आदेश गरेको थियो।

एसपी प्रधानका अनुसार प्रसाईंले सानोठिमीस्थित आयोगमा १५–१६ जना अनधिकृत व्यक्तिको समूह पठाइ हुल दंगा मच्चाएका थिए। उक्त समूहले आयोगका उपाध्यक्षको मानहानी हुने गरी पोस्टर टाँस्नुका साथै आयोगभित्र पर्चासमेत छरेको थियो। प्रसाईंले मेडिकल कलेजको सम्बन्धन दिनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा. गिरीले २० करोड रुपियाँ मागेको अभिव्यक्ति दिँदै आएका छन्। सत्ताको नजिक रहेका प्रसाईं र गिरीको अन्तर द्वन्द्व आम चासोको विषयसमेत बनेको छ।