भिडियो कन्फरेन्सद्वारा प्रहरी महानिरीक्षकको निर्देशन

0
Shares

काठमाडौं, (नेस)।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी प्रधानकार्यालयबाट भिडियो कन्फरेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुखहरूलाई शान्ति सुरक्षा तथा समसामयिक विषयमा बिहीबार निर्देशन दिनुभयो। साथै उहाँले सबै प्रदेशका निमित्त प्रमुखहरूसँग उक्त विषयमा अन्तरक्रियासमेत गर्नुभयो।

सो अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौतीलाई समाधान गर्न प्रहरीसक्षम रहेको उल्लेख गर्दै त्यस्ता चुनौतीहरूको समाधान गर्न उच्च सतर्कताकासाथ प्रहरी परिचालन गरी आक्रामक रूपमा प्रस्तुत हुन निर्देशन दिनुभयो। आवश्यकताअनुसार प्रदेश सरकार, सम्बन्धित निकाय, स्थानीय तह, स्थानीय प्रशासनसँग समेत समन्वय गरी उच्च प्रतिफल आउने गरी काम गर्नुपर्ने उहाँले बताउनुभयो।

प्रहरी महानिरीक्षक ज्ञवालीले कुनै पनि घटना, दुर्घटना भएमा तत्काल आवश्यकताअनुसार प्रहरी परिचालन गरी विधि तथा प्रक्रियासम्मत रूपमा कानुनी कारबाही अगाडि बढाउनुपर्ने बताउनुभयो।

सबै प्रदेशका प्रहरी प्रमुखहरूले आ–आफ्नो प्रदेशको सुरक्षा चुनौतीको पहिचान गरी उच्च रणनीतिका साथ समस्या समाधानमा लाग्न उहाँले निर्देशन दिनुभयो। प्रहरी कारबाहीको क्रममा मानवअधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले हिंसाजन्य क्रियाकलापमा प्रहरीको संलग्नता अक्षम्य हुने बताउनुभयो।

राजमार्ग अवरोध, अवाञ्छित गतिविधिलगायत अन्य अपराधिक गतिविधि नियन्त्रणमा पूर्ण सक्रियताका साथ खटिनुपर्नेमा उहाँले जोड दिनुभयो। अन्तरक्रियाको क्रममा प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुखहरूले आ–आफ्नो प्रदेशको शान्ति सुरक्षा एवं प्रहरीका काम कारबाहीका बारेमा जानकारी दिनुभएको थियो।