राष्ट्रिय दादुरा–रुबेला अभियानमा एनसेलको सहकार्य

0
Shares

काठमाडौं, (नेस)।

एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ मा सघाउने भएको छ। यस बहुप्रतिक्षित खोप अभियानअन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्षसम्मका करिब ३० लाख बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य राखेको छ।

प्रेस विज्ञप्तिमा जनाएअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा लागू गर्नेछ। फागुन १ (बिहीबार) गते शुरू भई फागुन ३० सम्म सञ्चालनमा रहने पहिलो चरणअन्तर्गत प्रदेश नं. १, २ र ५ का बालबालिकालाई दादुरा र रुबेला खोप लगाइनेछ। त्यसै गरी दोस्रो चरण चैत १ गतेदेखि चैत ३० गतेसम्म सञ्चालन हुनेछ र यो चरणमा बाँकी प्रदेशहरू बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका बालबालिकालाई यी खोपहरू लगाइनेछ।

‘दादुरा–रुबेलाविरुद्धको खोप शतप्रतिशत बालबालिकालाई लगाउनका लागि जनचेतना अभिवृद्धि गर्न एनसेलबाट हामीलाई धेरै सहयोग प्राप्त भएको छ। त्यो सहयोगका लागि एनसेललाई धेरै धन्यवाद दिन चाहन्छांै। भविष्यमा पनि हाम्रो खोप कार्यक्रमलाई सहयोग निरन्तर रहनेछ भन्ने आशा राख्दछौं।’ –परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने।

‘राष्ट्रिय प्राथमिकतामा रहेको दादुरा–रुबेला खोप अभियानअन्तर्गत खोपको महत्वका बारेमा जनचेतना अभिवृद्धिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गर्न पाएकामा हामी निकै हर्षित छौं। हाम्रो सामाजिक जिम्मेवारी कार्यक्रमअन्तर्गत स्वास्थ्य क्षेत्र हाम्रो प्रमुख प्राथमिकतामा रहेको छ र एक अग्रणी जिम्मेवार कर्पोरेट नागरिकका रूपमा हामीलाई यस किसिमको राष्ट्रिय अभियानमा सहकार्य गर्ने अवसर दिइएकामा निकै नै गौरवान्वित छौं।’ –एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चो·ले भने।

सरकारी तथ्याङ्कले सन् २०१५ पश्चात् दादुरा–रुबेला रोगका घटनाहरू निकै नै बढ्दो क्रममा रहेको देखाउँछ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कअनुसार १२ देखि २३ महिनाका बालबालिकामा सबै खोपको मात्रा पूरा गर्ने बालबालिकको संख्या २०११ मा ८७ प्रतिशत (२०११) रहेकामा सन् २०१६ सम्ममा ७८ मा प्रतिशतमा घटेको छ।

सरकारसँग एनसेलको यस सहकार्यले बालबालिकाको जीवन रक्षासँगै सन् २०२३ सम्ममा दादुरा–रुबेला निवारण गर्ने नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान पुर्याउनेछ। बालबालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू जस्तै अन्धोपना, इन्सेफ्लाइटिस्, पखाला र न्युमोनिया हुनुका साथै मृत्युसमेत हुन सक्छ। रुबेलाले हाडजोर्नीहरू सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतन वा मृत शिशु जन्मने र जन्मँदै हुने विकला·जस्ता जटिलता देखिनुका साथै मृत्युसमेत हुनसक्छ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत देशभर स्वास्थ्यसँग सम्बन्धित जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसँग २०७६ साल असोज १३ मा एक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको यही समझदारीअन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरूको प्राविधिक सहयोगमा राष्ट्रिय दादुरा–रुबेला खोप अभियानका लागि सञ्चार तथा जनसचेतना अभिवृद्धिका लागि सरकारलाई सहयोग गरेको हो। यसअघि एनसेलले स्वास्थ्यसम्बन्धी जनसचेतना अभिवृद्धिको सहकार्यअन्तर्गत डे·ीका बारेमा जनसचेतना अभिवृद्धिका लागि सहयोग गरेको थियो।