महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर (कविकुञ्ज)लाई सरकारले सङ्ग्रहालय बनाउने प्रक्रिया अगाडि बढाएसँगै मूर्धन्य नाटककार तथा कवि बालकृष्ण समको ज्ञानेश्वरस्थित निवासलाई पनि सङ्ग्रहालय बनाउने चर्चा शुरू भएको छ। समको ११८औं जन्मजयन्तीका सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्द्वारा आयोजित ‘नेपाली काव्यमा बालकृष्ण समको योगदान’ विषयक कार्यक्रममा वक्ताहरूले यस्तो चर्चा गर्नुभएको हो।
‘समका परिवारजनले अनुमति दिएमा प्रज्ञा–प्रतिष्ठान समको घरलाई सङ्ग्रहालय बनाउन तयार छ’, कुुलपति गङ्गाप्रसाद उप्रेतीले भन्नुभयो– ‘यस विषयमा तत्कालै सरकारसँग प्रस्ताव राख्छौं र समका परिवारजनसँग छलफल चलाउँछौं।’
प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव प्रा. जगतप्रसाद उपाध्यायले राणा कुलमा जन्मिएर पनि समले साहित्य सिर्जना, नाटकमा अभिनय र चित्रकलामार्फत् समानता र न्यायको पक्षमा सशक्त आवाज बुलन्द गरेको बताउनुभयो। ‘नाटक र छन्द कवितामार्फत् नेपाली भाषा तथा वाङ्मयको श्रीवृद्धिमा समले विशिष्ट योगदान पुर्याउनुभएको छ।’ –उहाँले भन्नुभयो।
प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले सम नाटक र कविता विधामा मात्र नभएर निबन्ध विधामा पनि उत्तिकै अब्बल रहेको बताउनुभयो। उहाँले सम समन्वयवादी चिन्तक, दार्शनिक एवं वैचारिक स्रष्टा भएको उल्लेख गर्नुभयो।
प्राडा देवीप्रसाद सुवेदीले ‘नेपाली काव्यमा बालकृष्ण समको योगदान’ विषयमा बोल्दै समलाई नाट्य सम्राट् भनिए पनि उहाँको मुख्य विधा कविता नै भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘समले जीवनको अन्तिम घडीसम्म पनि कविता विधालाई निन्तरता दिनुभएको थियो। उहाँको व्यक्तित्व मूलरूपमा कवि नै हो।’
नेपाली शिक्षा परिषद्की सदस्य–सचिव प्राज्ञ रमा शर्माले समको निवासलाई सङ्ग्रहालय बनाउने विषयमा आवश्यक सहयोग गर्न परिषद् तयार रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘समजीले मलाई स्नातकोत्तर तहमा पढाउनुभएको थियो। सम बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो। राष्ट्रप्रति उहाँको विशिष्ट योगदान छ। उहाँको योगदानको सम्मानका लागि राष्ट्रले आवश्यक कार्य गर्न ढिला गर्नु हुँदैन।’
प्रतिक्रिया