साढे दुई लाख क्रियाशील सदस्य थप्दै कांग्रेस

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले साढे दुई लाख नयाँ क्रियाशील सदस्यता वितरण गर्ने भएको छ। १४औं महाधिवेशनमा हाल विद्यमान संख्याको ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेसँगै कांग्रेसभित्र क्रियाशील सदस्यको संख्या ७ लाख ५० हजार पुग्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार पार्टीमा हाल ४ लाख ९८ हजार क्रियाशील सदस्य छन्। बुधबार बसेको केन्द्रीय समिति बैठकले विद्यमान संख्याको ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको हो।

कांग्रेसभित्र महाधिवेशनमा नेतृत्व हत्याउने भोटको राजनीतिका साथ क्रियाशील सदस्यता वितरण गरिने हँुदा प्रायः विवाद आइरहने गरेको छ। १३औं महाधिवेशनमा पनि क्रियाशील सदस्यता वितरणमा विवाद आएपछि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा क्रियाशील सदस्यता छानविन समिति गठन गरिएको थियो। अहिले पनि कांग्रेसले क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने निर्णय गरिसकेको छ।

कांग्रेसभित्र नगरसम्मको कार्यसमिति क्रियाशील सदस्यहरूको प्रत्यक्ष निर्वाचनबाट बन्ने गर्छ। वडाबाट प्रदेश र प्रतिनिधिसभाका लागि क्षेत्रीय प्रतिनिधि छनोट गर्ने काम पनि क्रियाशील सदस्यहरूबाटै हुन्छ भने प्रतिनिधिसभाका क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि र महासमिति प्रतिनिधि छनोट हुन्छ।

कांग्रेसभित्र क्रियाशील सदस्यता वितरणमा सधैं विवाद किन भइरहन्छ भन्ने जिज्ञासामा कांग्रेस नेता रामहरि खतिवडाले महाधिवेशन प्रतिनिधि क्रियाशील सदस्यहरूले नै छान्ने भएकाले नेताहरू केन्द्रीय सभापति तथा पदाधिकारी र केन्द्रीय सदस्य बन्न आफ्नोलाई मात्र क्रियाशील सदस्य दिन चाहने भएकाले विवाद भइरहने बताउनुभयो।

क्रियाशील सदस्यता वितरणमा भइरहने विवादबारे काभ्रे कांग्रेसका नेता रमेश हुमागाईंले जो कांग्रेसभित्र वास्तविक रुपमै क्रियाशील भएर लागेको छ उसलाई क्रियाशील सदस्यता नदिने भएकाले विवाद आइरहेको बताउनुभयो।

कांग्रेसमा क्रियाशील सदस्यको नवीकरण जिल्लाबाटै हुन्छ भने नयाँ क्रियाशील सदस्य वितरण केन्द्रबाट हुन्छ। प्रमुख प्रतिपक्ष दल कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्न विधानको धारमा उल्लेखित कतिपय मापदण्डहरू निलम्बन गरेको छ।

गत निर्वाचनमा फोरम लोकतान्त्रिकसँग पार्टी एकीकरण गरेको कांग्रेसले फोरमबाट र अन्य पार्टी परित्याग गरी आउनेलाई क्रियाशील सदस्यता दिन क्रियाशील सदस्यतासम्बन्धी विधानको धारा निलम्बन गरेको हो।

केन्द्रीय समितिले पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी निलम्वन गरिएको धारमा क्रियाशील सदस्यता प्राप्त गर्ने विभिन्न मापदण्ड थियो।

केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंका अनुसार केन्द्रीय समितिले धारा ४ (२) को ‘एक वर्ष पुगेपछि’ धारा ४ (१०) (ञ) को ‘छ महिना’ धारा ४ (१२) (ख) को ‘नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको’ धारा ३५ (२) (घ) को ‘भन्दा कम्तीमा एक वर्ष’ र ‘तीन महिना’ धारा ५० (६) को ‘छ महिना अगावै’ र ‘छ महिना’ लाई निलम्बन गरिएको छ।