‘जनयुद्ध’ दिवसमा गौतम र पौडेलमात्र उपस्थित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

२५ औं ‘जनयुद्ध’ दिवसका अवसरमा बिहीबार नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा पूर्व एमालेका वरिष्ठ नेताहरू कोही उपस्थित हुनुभएन तर त्यसको अड्कोपड्को उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेलले उपस्थित भएर टार्नुभयो।

केहीदिनअघि नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने प्रचार गरिदैँ आए उहाँ गतसाल झैँ यसपालि पनि सहभागी हुनुभएन। प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्री जनयुद्ध दिवसमा सहभागी हुने कार्यक्रम नै नभएको नेपाल समाचारपत्रलाई बताउनुभयो।

प्रम ओलीजस्तै वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल पनि जनयुद्ध दिवसमा जानुभएन। लगायतका केही नेता भने जानुभएको थियो। जनयुद्ध र जनआन्दोलन दिवस मनाउन पार्टी कार्यालय धुम्बराहीमा भेला भएका नेता/कार्यकर्ता प्रधानमन्त्री नआउने जानकारी पाएपछि खासखुस गर्दै थिए–एकताको २२ महिना पुग्दासम्म पार्टीमा भावनात्मक एकता हुनसकेको देखिएन।

तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गतेदेखि जनयुुद्ध सुरु गरेको थियो। पूर्व एमाले र माओवादी केन्द्रबीच २०७५ साल जेठ ३ गते एकता भएपछि हरेक फागुन १ लाई ‘जनआन्दोलन र जनयुद्ध’ दिवसका रुपमा मनाउन थालिएको हो।

‘परिवर्तनको आधार जनयुद्ध’

नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेपालको जनयुद्ध विश्व इतिहासमा बिरलै हुने ऐतिहासक घटना भएको बताउनुभयो। जनयुद्ध र जनआन्दोलनले सामन्तवादलाई परास्त गरी साम्रज्यवादलाई कमजोर बनाएको दावी गर्दै सोही कार्यक्रममा उहाँले भन्नुभयो–जनयुद्ध बलिदानको युद्ध हो, मुक्ति र संघर्षको युद्ध हो, यति ठूलो बलिदान संसारको इतिहासमा भएको थिएन, अब हामीले बहुदलीय प्रतिस्पर्धाका आधारमा समाजवाद स्थापना गर्नुपर्छ।’

शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र जनयुद्धको जगमा मुलुक परिवर्तनको दिशातर्फ अग्रसर भएको विश्लेषण गर्दै उपाध्यक्ष गौतमले भन्नुभयो,‘अहिलेका सम्पूर्ण उपलब्धीको आधार जनआन्दोलन र जनयुद्ध नै हो।’

जनयुद्धकालमा मारिएका तीन सयभन्दा बढी नेता र कार्यकर्ताले अनाहकमा ज्यान गुमाउनुपरेको स्मरण गर्दै उहाँले ती सहिद र तिनका पीडित परिवारको न्यायोचित मूल्याङ्कन हुनुपर्ने बताउनुभयो।

जनमुक्ति सेनाबाट दुई सयभन्दा बढी र नेपाली सेनाबाट सयभन्दा धेरै तत्कालिन नेकपा (एमाले) का नेता/कार्यकर्ता मारिएको स्मरण गर्दै उपाध्यक्ष गौतमले भन्नुभयो, ‘त्यसरी मारिने सबै निशस्त्र, निहत्था थिए। सबैलाई बाटो ढुकेर हत्या गरिएको थियो।’

झापा संघर्षबाट विकसित भएको कोअर्डिनेशन केन्द्र र नेकपा (माले) को भूमिका सम्झँदै उहाँले थप्नुभयो, ‘झापा विद्रोह सही भए पनि वर्गशत्रु खत्तम पार्ने नाममा गरिएको व्यक्तिहत्या गलत थियो।’

‘जनयुद्धले नै हो परिवर्तन उठाएको’

काठमाडौँ, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै मुलुक समाजवादको आधारमा निर्माणतर्फ अघि बढेको बताउनुभयो।

अब जनयुद्धको नक्कल हुन नसक्ने बताउँदै उहाँले भन्नुभयो–‘हामी विश्व अनुभवको समीक्षा गरेर शान्ति–प्रक्रियामा आई मौलिक तरिकाको जनवादी क्रान्तिमा सामेल भएका हौँ, जनयुद्धलाई निरन्तरता दिएको भए पेरु वा श्रीलङ्कामा सकिने थियौँ, कम्युनिष्टहरूबीचको सहकार्यसहित बुर्जुवाको साथ लिएर गणतन्त्र ल्याएका हौँ।’

सात राजनीति दलसँग १२ बुँदे सहमति हुनुअघि तत्कालीन नेकपा (एमाले)का नेता वामदेव गौतमलगायतसँग संविधानसभाका लागि सहमति भएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले शान्तिपूर्ण जनआन्दोलनमा रहेका नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले समेत राजतन्त्रविरुद्ध अझ फौजी आक्रमण बढाइदिन आफूलाई आग्रह गरेको स्मरण गर्नुभयो।

तत्कालीन एमाले र माओवादी जनयुद्धका शुरुआती वर्षमा तीखो संघर्षमा रहे पनि पछिल्ला समयमा कम्युनिस्ट शक्तिबीचको सहकार्यलाई जोड दिने माओवादीको निर्णयकै पृष्ठभूमिमा हाल नेकपाको एकता भएको उल्लेख गर्दै उहाँले २०२८ को झापा विद्रोह (सुखानी) र जनयुद्धका शहीदसम्मलाई जोडेर नेतृत्वले सही विचार र सोचका साथ मुलुकलाई सही गन्तव्यमा पुर्याउने दाबी गर्नुभयो।