सरोज यादव, विराटनगर।
भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र प्रदेश १ ले ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखी विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि पर्यटन पूर्वाधारका रुपमा रहेको जलयातायातमा निराशा देखिएको छ। जलयातायातका लागि पछिल्लो समय चर्चित बन्दै गएको सप्तकोसी नदीमा सञ्चालित पानीजहाजहरू सुरक्षाको कारण देखाउँदै बन्द भएका छन्।
सप्तकोसीका पानीजहाज सञ्चालन भएयता त्यहाँ ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक जलविहार गर्नका लागि पुग्ने गरेका थिए। जल यातायात व्यवसायी महासंघमा आबद्ध भएर सुनसरीको चतराबाट भोजपुरसम्म सञ्चालन हुँदै आएका विभिन्न ७ वटा पानीजहाज सुरक्षाको कारण देखाउँदै बन्द गरिएका हुन्। महासंघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सोको जानकारी गराएको छ।
महासंघका सदस्य राजेन्द्र कार्कीले स्थानीयको अवरोधका कारण सञ्चालनमा समस्या उत्पन्न भएपछि शहीदभूमिको त्रिवेणीमा पानीजहाज रोकिएको बताउनुभयो। उहाँले स्थानीय केही समूहले रकम माग्ने, निःशुल्क चढ्न पाउनुपर्ने, टिकटमा कमिसन दिनुपर्नेलगायत माग राख्न थालेपछि बन्द गर्नुको विकल्प नरहेको बताउनुभयो।
सो ठाँउमा बराह क्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट प्रालि र सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टस प्रालिले सातवटा पानीजहाज सञ्चालन गर्दै आएका छन। सप्तकोसीमा दुई वर्षअघि पानीजहाज परीक्षण गरी सञ्चालनमा आएको थियो। एक वर्षदेखि भने नियमित सञ्चालन हुने गरेको थियो।
सप्तकोसीमा चतराघाटदेखि भोजपुरको हतुवागढीको सिम्लेसम्म सातवटा पानीजहाज चल्दै आएका छन्। चतराघाटबाट बराहक्षेत्र र भोजपुरका विभिन्न भागसम्म पुग्ने यात्रुलाई पानीजहाज सञ्चालनमा आएपछि आउजाउमा सहज भएको थियो भने पर्यटकलाई समेत सहज भएको थियो।











प्रतिक्रिया