दुई जोडीको विवाह भएन

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

भीमफेदी र बकैया गाउँपालिकाका २० वर्ष पूरा नभएका दुई जोडी बालबालिकाको बुधबार प्रेमविवाह ‘बदर’ गरिएको छ । नेपालको कानुनअनुसार २० वर्ष पूरा नभए केटाकेटीहरु पतिपत्नीका रुपमा सँगै बस्न नपाइने प्रावधान रहेकोले विवाह ‘बदर’ गरिएको हो ।

बालविवाह मुक्त प्रदेश अभियानका सहजकर्ता पबिना लामा र बाल हेल्पलाइन मकवानपुरको पहल एवम् भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती राना र प्रहरी कार्यालय भीमफेदीको समन्वयमा १६ वर्षीय बालक र १३ वर्षीया बालिकाबीचको प्रेमविवाह ‘बदर’ गरिएको हो ।

विवाह बदर गर्नुअघि सम्बन्धित बालबालिकाका अभिभावकबीच पालिका अध्यक्ष हिदम लामा, बाल हेल्पलाइन प्रमुख झविन्द्र ज्ञवाली, सहजकर्ता लामा, वडा–६ अध्यक्ष सीताराम थापा, महिला तथा बालबालिका कार्यालय प्रमुख दुर्गा घिमिरेलगायतको उपस्थितिमा छलफलबाट विवाह बदर हुने निर्णय भएको हो ।

छलफलबाट बालविवाहसम्बन्धी कानुनी प्रावधान दुवै परिवारको अभिभावक प्रष्ट भएपछि आआफ्ना छोराछोरी आआफूले जिम्मा लिन राजी भए । दुवै परिवारले आआफ्ना छोराछोरी पढ्दै गरेकाले दुवैको पढाइमा निरन्तरता दिन आफूहरुले पहल गर्ने प्रतिवद्धता गरेका छन् ।

विवाह बदर भएलगत्तै १३ वर्षीया बालिकाका अभिभावकको सहमतिमा पालिकाको सिफारिसअनुसार बाल हेल्पलाइन प्रमुख ज्ञवालीको नेतृत्वमा बालिकालाई काउन्सिलका लागि बाल हेल्पलाइन हेटौंडामा ल्याइएको छ ।

हेटौंडा–१४ की १३ वर्षीया बालिका र बकैया–७ का १७ वर्षीय बालकबीच प्रेमविवाह पनि बदर गरिएको छ । बकैया–७ अध्यक्ष रामकाजी लामिछानेको नेतृत्वमा बाल हेल्पलाइन हेटौंडामा बालबालिकाका दुवै परिवार झिकाएर गरेको छलफलबाट अभिभावकले आआफ्ना छोराछोरी जिम्मा लिएका हुन् ।

छलफलमा बकैया–७ अध्यक्ष लामिछाने, सहजकर्ता लामा, बाल हेल्पलाइनका ज्ञवाली, हेटौंडा उपमहानगर कानुनी सहजकर्ता रोनिता लम्साल तथा उपमेयर मीना लामाको सचिवालयबाट रुपा बिडारीको सहभागिता थियो । बालिकालाई अभिभावकको सहमति र उपमहानगरपलिकाको सिफारिसमा केही दिन बाल हेल्पलाइनमा राखिने भएको छ । बालकलाई उनको परिवारको जिम्मा लगाइएको छ ।

सरकारी अभियानअन्तर्गत् स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने नीतिअनुसार ३९ वटा मापदण्ड निर्माण गरिएका छन् । ती मापदण्डमध्ये बालविवाहमुक्त अनिवार्य छ ।

उमेर नपुगी गरेको विवाहले बालबालिकाको हकअधिकार हनन् हुने, शारीरिक, मानसिक, शैक्षिक, आर्थिक तथा सामाजिक विकृति विसंगति निम्त्याउने भएकोले २० वर्ष पूरा नभएर अपरिपक्व उमेरमा गरेको विवाहलाई मान्यता नदिइने ज्ञवालीले बताउनुभयो ।