कोरोना भाइरसका कारण सिंगापुरको बैंक खाली गराइयो

0
Shares

सिंगापुर सिटी,(एजेन्सी)।

एकजना व्यक्तिलाई कोराना भाइरस संक्रमण भएपछि सिंगापुरको सबैभन्दा ठूलो बैंक डीबीएसका करिब ३ सयजना कर्मचारीलाई त्यहाँबाट अन्यत्र लगिएको छ। तिनीहरू सबै कर्मचारी नै रोगी भेटिएको सो बैंक रहेको भवनको ४३औं तल्लामा काम गरिरहेका थिए। तिनीहरू सबैलाई बुधबार आ–आफ्नो घर पठाइएको छ। यसअघि नै सिंगापुरमा ४७ वटा कोरोना भाइरसको घटना देखिसकेको छ।

चीनबाहिर सबैभन्दा बढी यस रोगी देखिएको सिंगापुरमै हो। यसैबीच कोराना भाइरस महामारीको कारणले सांघाइमा आयोजना हुन गइरहेको फर्मुला १ चाइनिज ग्रान्ड प्रिक्स स्थगित गरिएको छ। चीनमा कोरोना संक्रमितको संख्या ४४ हजार नाघिसकेको छ। साथै, यसबाट चीनमा ११ सय जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ। अहिलेसम्म विश्वका २० वटाभन्दा बढी मुलुकमा कोरो भाइरस फेला परिसकेको छ।

कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताहरूले सहयोग गर्ने आश्वासन बुधबार चीनलाई दिएका छन्। चीनलाई अघिल्लो दिन पनि जी–७७ समूह, संयुक्त राष्ट्रसंघ तथा संयुक्त राज्य अमेरिकाले पनि सहयोग गर्ने जनाइसकका छन्।

संयुक्त राष्ट्रसंघले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिँदै यस भाइरसको संक्रमण रोक्न चीनले गरेका प्रयासको सराहना पनि गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र्र मोदीले हालसम्म चीनले यो भाइरसको नियन्त्रणका लागि गरेको प्रयासको सराहना गर्दै चीनले भावी दिनहरूमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैगरी बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि चीनलाई आवश्यक सहयोग गर्ने वचन दिएका छन्। चीनले यस भाइरसको संक्रमण रोक्न हालसम्म ४० हजारभन्दा बढी सामुदायिक स्वास्थ्य कार्यकर्ता तथा स्वास्थ्यकर्र्मी परिचालन गरिएको जनाएको छ।

नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार हरेक समुदायका लागि औसतमा छ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन्। उनले हरेक सामुदायिक कार्यकर्ताले औसतमा ३ सय ५० स्थानीय बासिन्दालाई हेर्ने गरेको जानकारी दिँदै यो संख्याले स्थानीय नागरिकलाई प्रत्यक्ष रूपमा हेर्न सकेको छ या छैन भनेर पनि निरीक्षण भइरहेको र आवश्यकताअनुसार स्वास्थ्यकर्मीहरूको संख्या बढाइने बताए।

चीनलाई सान्त्वना दिनेमा पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सोउसाल, ग्रिक राष्ट्रपति प्रोकोपिस पाभ्लोपाउलस तथा टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डीगान पनि रहेका छन्। यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमणलाई आधिकारिक नाम दिएको छ। अब कोरोना भाइरसको संक्रमणलाई अबदेखि कोभीड–नाइनटिन भनिने बताइएको छ। यसअघि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले यसलाई नोभेल कोरोना भाइरस निमोनिया (एनसीपी) नाम दिने बताएको थियो।