राजपाका चार नेता दिल्लीमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष चार नेता भारतको राजधानी दिल्ली गएका छन्।तत्काल सरकारमा जाने नजाने तथा पार्टी एकता गर्ने नगर्ने भन्ने दोधारमा रहेको अवस्थामा उनीहरू दिल्ली गएका हुन्।

राजपाका अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारी र वरिष्ठ नेता निर्जला राउत गएलगत्तै अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतो र त्यसपछि मंगलबार नेता राजकिशोर यादव दिल्ली जानुभएको हो।

उक्त पार्टीका महासचिव केशव झाले भण्डारी र राउत बिहे, महतो स्वास्थ्य उपचार र यादव त्यहाँ आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन दिल्ली गएको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँहरू व्यक्तिगत कामले दिल्ली गएको उहाँले दाबी गर्नुभयो।उक्त पार्टीमा सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद कायमै छ। हालका संयोजक महेन्द्रराय यादव र महन्त ठाकुर पार्टी एकीकरण र सरकारमा जान नहुने र अन्य नेताहरू जानुपर्ने पक्षमा हुनुहुन्छ।

अध्यक्ष मण्डलका संयोजक यादवले संसद् बैठकमा सरकारमा नजाने बताएपछि सो पार्टी एकीकरणतर्फ अघि बढेको छ।केन्द्रीय सदस्य सबरकुमार प्रजापतीले संघीय समाजवादी पार्टीसँग एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो।

एकतापछि नेताहरू ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतो शीर्षस्थान र अन्य नेता सचिवालय सदस्यका रूपमा रहने बताइएको छ।
तर सोही पार्टीको एक उच्च स्रोतले समाजवादीसँग एकता गर्ने विषयमा पनि मतभेद रहेको दाबी गर्यो।

अध्यक्ष मण्डलका संयोजक यादव, ठाकुर, महतोहरू एकताको पक्ष र भण्डारी, यादव, अनिलकुमार झालगायतका नेता विपक्षमा हुनुहुन्छ।एकीकरणपछि पार्टीको नाम राष्ट्रिय समाजवादी पार्टी र चुनाव चिन्ह एउटा पार्टी र झण्डा अर्काे पार्टीको राख्ने सहमतिसमेत भएको दाबी गरिएको छ।

एकीकरण पक्षधर हालका संयोजक यादवको अवधि एक महिना मात्र बाँकी रहेकाले छिट्टै उक्त प्रक्रिया नटुंगिए फेरि लामो समय एकीकरण नहुने बताइएको छ। एक महिनापछि संयोजक चक्रीय प्रणालीअनुसार दुई/दुई महिनामा शरद्सिंह भण्डारी, राजकिशोर यादव र अनिलकुमार झा हुने भएकाले कम्तीमा ६ महिना एकीकरण प्रक्रिया अल्झिने स्रोतले बताएको छ।