महानगरमा अब रात्रीमा पनि सार्वजनिक यातायात सञ्चालन हुने


न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँ महानगरपालिका क्षेत्र भित्र अब रात्रीकालिन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सहरी यातायात सेवालाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुनालाई समेत थप सहज बनाउन काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रात्रीकालिन सार्वजनिक यातायात सञ्चालन गरिने भएको हो ।

आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अगुवाईमा विभिन्न सरोकारवाला निकायसँग भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो । विगतमा २०६९ साल भदौ १ गतेदेखि काठमाडौँ महानगरपालिकाको केही आर्थिक अनुदानमा रात्रीकालिन सार्वजनिक यातायात सञ्चालनमा आए पनि करीब १८ महिना सञ्चालनमा आएपछि महासंघले सेवा बन्द गरेको थियो ।

अहिले स्थानीय तहमा जनप्रतिनिधि आएपछि रात्रीकालिन सेवालाई थप सहज बनाउँदै दीर्घकालिन रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरोकारवालासँग छलफल भएको मेयर शाक्यले जानकारी दिनुभयो । मेयर शाक्यले सकेसम्म चैत्र १ गतेबाट नभए नयाँ वर्षको सुरुवातसँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा सुरु गर्ने गरी कार्यदल नै गठन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘महानगरपालिकाले यस अघि नै नमूनाका रुपमा टुँडिखेल वरीपरी ‘पिक एण्ड ड्रप’ सुरु गरिसकेको छ । सुरुमा केही आलोचना भए पनि अहिले त्यसको प्रभाव सकारात्मक परेको छ,’ मेयर शाक्यले भन्नुभयो, ‘सार्वजनिक यातायातले यात्रु पर्खिने होइन, यात्रुले चाँहि सार्वजनिक यातायात पर्खिने वातावरण निर्माण गर्दै यात्रुहरुको सहजतालाई पनि ध्यान दिएर हामीले रात्रीकालिन सेवा सुरु गर्न लागेका हौँ ।’

मेयर शाक्यले सुरुमा व्यवस्थापनका लागि पर्ने आवश्यकता पूरा गर्न महानगरपालिका तयार रहेको भन्दै दीर्घकालिन सेवा दिने गरी योजना बनाएर ल्याउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई आग्रह गर्नुभयो ।

‘पहिला जस्तो केही समय चलाएर बन्द गर्ने गरी सेवा सञ्चालन गर्ने होइन दीर्घकालिन सेवा दिने योजना बनाउनु होला महानगर सहयोग गर्न तयार छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश–३ संयोजक धर्मराज रिमाल (राजेन्द्र)लाई भन्नुभयो, ‘सुरुमा केही ट्क्सी र सार्वजनिक यातायातमा जीपीएस प्रणाली जडान गर्ने, विभिन्न ठाउँमा सीसी क्यामेरा जडान गर्ने, ट्राफिकलाईट जडान गर्ने जस्ता कुरामा हामी ट्राफिक र प्रहरीसँग मिलेर सहयोग गर्छौ ।’

मेयर शाक्यले प्रदेश सरकार र केन्द्र सरकार समेत सकारात्मक रहेको भन्दै यो सेवाले रात्रीकालिन व्यवसायको चहल–पहल बढ्ने र त्यसले पर्यटन वर्ष २०२० लाई पनि थप सहयोग पुग्ने बताउनुभयो ।

मेयर शाक्यको भनाईलाई समर्थन गर्दै रिमालले यो पटक सेवा सुरु गरेपछि बन्द नहुने गरी चलाउने गरी योजना बनाएको भन्दै केही योजना पनि प्रस्तुत गर्नुभएको थियो । ‘पहिला महानगरपालिकासँग ६ महिने सम्झौता भएको थियो । ६ महिनापछि सम्झौता थपिएन तर पनि हामीले १८ महिना सञ्चालन गरेपछि नसक्ने भएर बन्द गर्नुपर्यो,’ उहाँले भन्नुभयो, ‘यो पटक रात्रीकालिन सेवामा ५० प्रतिशत भाडा बढी उठाउने गरी हामीले अनुमति पायौँ भने सेवालाई दीर्घकालिन सेवा दिन तयार छौँ ।’

उहाँले अहिले रत्नपार्कलाइै केन्द्रित गरेर छिमेकी नगरपालिका र लतितपुर, भक्तपुरमा समेत सेवा पुर्याउने गरी १५ ओटा रुट बनाएर सेवा दिने बताउनुभयो । सुरुमा कम्तीमा पनि ६० ओटा वस दैनिक सञ्चालन गर्न सकिने उहाँको भनाई थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनप्रसाद हमालले पनि कार्यदल बनाएर विवाद नआउने गरी समाधानको बाटो खोज्न तयार रहेको भन्दै सेवा दीर्घकालिन गर्ने कुराको ग्यारेण्टी महासँघले गर्नुपर्नेमा जोड दिनुभयो । ‘प्रस्ताव सकारात्मक छ,’ उहाँले भन्नुभयो, ‘रात्रीकालिन सेवा सञ्चालन गर्नुको विकल्प छैन । यसलाई छिटै कार्यान्वयन गर्ने गरी अघि बढौँ ।’

महानगरीय ट्राफिक महाशाखा रामशाहपथका प्रहरी उपरीक्षक राजकुमार बैदवारले पनि रात्रीकालिन व्यवसायलाई प्रर्वद्धन गर्न र सहरी सेवालाई थप प्रभावकारी बनाउन सेवा सञ्चालन गर्नुको विकल्प नभएको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक विमल बस्नेतले पनि नेपाल भ्रमण वर्षलाई केन्द्रित गरेर महानगर भित्रका पर्यटकीय क्षेत्रमा पनि विदेशी पाहुनालाई सहज आगमन र अवेसम्म हिडडुलका लागि सेवा प्रभावकारी हुने गरी योजना बनाएर अघि बढ्नु पर्ने बताउनुभयो ।

रात्रीकालिन सेवा सञ्चालनका लागि सुरक्षा दिन आफूहरु सक्षम रहेको बताउनुभयो । अहिले पनि मोवाइल गाढीको व्यवस्था गरेको भन्दै सुरक्षामा कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जीवन प्रसाद आचार्यले पनि योजना सकारात्मक भएको भन्दै सकेसम्म छिटो सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफ्नो तहबाट गरिने सबै सहयोग गर्न तयार रहेको बताउनुभयो । काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पनि छिट्टै काम अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

काठमाडौँ महानगरपालिका सहरी सुव्यवस्था विभागकका प्रमुख हरि कुँवरले पनि अब कार्यदल नै बनाएर छिट्टै अघि बढ्ने बताउनुभयो । ‘प्रदेश सरकार, ट्राफिक, महासँघलगायतका प्रतिनिधि रहने गरी कम्तीमा पाँच सदस्यीय कार्यदल बनाएर अब कामलाई द्रुत गतिमा अघि बढाउँछौँ,’ उहाँले भन्नुभयो, ‘सकेसम्म चैत १ भए नयाँ वर्षबाट सुरुवात गर्ने गरी अघि बढ्छौँ ।’