एक लाख मेललाई नास्पाती बनाउँदै कृषि ज्ञान केन्द्र

0
Shares

दयाराम पण्डित, बाजुरा।

बाजुराका वन क्षेत्रमा पाइने जङ्गली प्रजातिको मेलका बिरुवालाई कृषि ज्ञान केन्द्र बाजुराले नास्पाती बनाउने योजना अघि सारेको छ। जिल्लाका सबै स्थानीय तहमा प्रशस्त मात्रामा जङ्गली मेललाई कलमी प्रविधि अपनाएर नास्पाती बनाउन थालिएको हो।

बाजुराका सामुदायिक वनक्षेत्रमा ५ वर्षमा कम्तीमा १ लाख मेलका बोटलाई नास्पाती बनाउने लक्ष्य रहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिँजापतीले जानकारी दिनुभयो।

यो वर्ष बाजुराका नौवटै स्थानीय तहका नौ ठाउँमा फागुन पहिलो हप्ताबाट १० हजार मेलका बोटलाई नास्पाती बनाउने गरी अभियान अगाडि बढाइएको छ। बोटको जातीयताका आधारमा बाजुराका विभिन्न ठाउँमा १ हजार २ सयदेखि २ हजार ५ सय मिटर उचाइमा फल्ने गरेको मेलबाट खुदो बनाउने प्रचलन छ।

तर, आजभोलि त्यो पनि लोप भइसकेको छ। ‘जङ्गली मेल र नास्पातीको परिवार एउटै भएकाले मेलमा नास्पाती कलमी गरी माथिको बोटलाई सजिलै नास्पाती बनाउन सकिन्छ।’ –कृषि ज्ञान केन्द्रका प्रमुख सिँजापतिले जानकारी दिनुुभयो।

माथि नास्पाती तल मेलको जरा नै हुने भएकाले यसमा रोग कम लाग्ने, गोडमेल तथा मलखाद प्रयोग गर्नुनपर्ने र लामो समयसम्म टिकाउ हुने बताइएको छ। ‘जङ्गलमा प्रशस्त मात्रामा आफै उम्रिने भएकाले खेर गइरहेका हजारौं मेलको बोटलाई सामान्य व्यवस्थापनमा पनि नास्पाती फलमा रूपान्तरण गर्न सकिन्छ।’ –कृषि ज्ञान केन्द्रका अधिकृत मीनराज जैसीले भन्नुुभयो।

नास्पातीको ताजा फल बिक्री जाम तथा जेली बनाउनुका साथै बाँकी नास्पातीबाट बार्जु वाइन तयार गरिने गरेको बताइएको छ। यस प्रविधिबाट नास्पातीका विभिन्न परिकार बनाइ बिक्री वितरण गरी सजिलै आम्दानी गर्न सकिनेछ।

स्थानीय तहका मेलका बोटहरू भएका गाउँको पहिचान गरी फलफूल विकास केन्द्र कीर्तिपुर काठमाडौंबाट जापनिज नास्पातीको साइन र दक्ष जनशक्ति ल्याएर कम्तीमा २७ जना प्राविधिकलाई कलमी गर्ने तरिकाबारे तालिम दिइने कृषि ज्ञान केन्द्रका प्रमुख सिँजापतिले बताउनुुभएको छ।

ज्ञानकेन्द्रका प्रमुख सिँजापतिले भन्नुुभयो– ‘२७ जना प्राविधिकलाई यो कामका लागि फिल्डमा परिचालन गरिनेछ। मेललाई कलमी गर्ने कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्ने र हरेक वर्ष निरन्तरता दिइनेछ।’

‘हाम्रो यस अभियानलाई सहयोग गर्न र यसरी कलमी गरेका बोटको संरक्षणका लागि स्थानीय समुदायलाई अनुरोध गर्न चाहन्छौं। कलमी गरेको ३ देखि ४ वर्षमा यी बोटले उत्पादन दिन शुरू गरेपछि पहिलो प्रथमिकतामा ताजा फल बिक्री गरिनेछ।’ –सिँजापतीले बताउनुभयो।

नबिकेको फललाई संकलन गरी प्रशोधन उद्योगको स्थापनापश्चात् जाम जेली जुस र बार्जु वाइन तयार गरी बिक्री वितरण गरिने बताइएको छ। मेल कलमी कार्यक्रमबाट ३ देखि ४ वर्षपछि करिब १ लाख नास्पातीका बोटबाट वार्षिक कम्तीमा पनि १ लाख कुइन्टल नास्पातीको फल उत्पादन गर्ने लक्ष्य कृषि ज्ञानकेन्द्रसँग रहेको बताइएको छ।

मेललाई नास्पातीमा रूपान्तरण गर्न सकेमा बाजुरामा करिब ५० करोड रुपियाँ बराबरको ताजा फल उत्पादन हुनेछ। प्रशोधन उद्योगमार्फत वार्षिक १ करोड बराबरको जाम जेली जुस र बार्जु वाइनको व्यापार गर्न सकिने सम्भावना रहेको छ। कार्यक्रमलार्ई सफल पार्न सम्भाव्यता अध्ययन गरेर मात्र हुँदैन सरोकारवाला सबैको उत्तिकै सहयोग र समन्वय आवश्यक देखिन्छ।

‘कृषि ज्ञान केन्द्रको अभियानमा कृषकले संरक्षण र व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने हुन्छ।’ –कृषि ज्ञान केन्द्रका अधिकृत जैशीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत अपील गर्नुभएको छ।

जिल्लामा भएका अथाह जडीबुटीको सदुपयोग गर्न बजार नपाएर गाईवस्तुलाई खुवाउन बाध्य स्याउ सुन्तलाको उचित बजार व्यवस्थापन र मेलका बोटलाई नास्पातीमा रूपान्तरण हुने हो भने बाजुरेलीले सधैं गरिबीको सूचाङ्कमा नाम लेखाउने कामको अन्त्य गर्न सकिन्छ।

बाजुरा गरिबी र अभावको जिल्ला मात्रै होइन अवसर र सम्भावनाको जिल्ला पनि हो भन्ने एक बलियो उदाहरण बन्न सक्छ।