सिन्धुपाल्चोकमा कोरोनाका बिरामी भेटिएको आशंकापछि स्वास्थ्यकर्मी लिएर गुम्बा पुग्यो गाउँ सरकार

0
Shares

नानीराम नेपाल,सिन्धुपाल्चोक ।

एकै गाउँका डेढ सय बढिलाई रुघाखोकी र ज्वरो देखिएपछि जिल्लाको विकट गाउँ गुम्बामा त्रासदी छाएको छ । जुगल ३ स्थित गुम्बागाउँका १ सय ५० जनामा रुघाखोकी र ज्वरो देखिएपछि बुधबार बिहान स्वास्थ्यकर्मीको टोली गुम्बा पुगेको छ । दुई जना मेडिकल अफिसरलाई लिएर जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ गुम्बा पुग्नुभएको छ । दुईजना स्वास्थ्यकर्मीसहित आवस्यक औषधी, मास्क र पञ्जा लिएर गुम्बा पुगिएको अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

विश्वमा फैलिरहेको नोबेल कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो लक्षणका बिरामी देखापरेको उल्लेख गर्दै जुगल गाउँपालिकाले सो को परीक्षण, पहिचान र उपचारका लागि सघाउन मंगलबार स्वास्थ्य तथा जनसंखया मन्त्रालयमा पत्र पठाएको थियोे ।

मंगलबार नै गाउँपालिकाभित्र उपलब्ध स्वास्थ्यकर्मी खटाई उनीहरुको प्राथमीक उपचारमा खटेको जुगल गाउँपालिकाले बुधबार बिहानै मेडिकल अफिसरसहितको टोली गुम्बागाउँमा लिएर गएको छ । बुधबार बिहानसम्म २ सय १ जनाले बिरामी परेको भन्दै नाम दर्ता गराएका छन् ।

उनीहरुमध्ये १ सय ५० जनामा रुघाखोकी र अत्याधिक ज्वरो देखिएको मेडिकल अफिसरसहित गुम्बा पुग्नुभएका जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।‘एकैगाउँका २ सय जना बिरामी परे,कोरोना भाइरससँग मिल्ने लक्षण देखियो भनेर स्वास्थ्य मन्त्रालयमा सहयोगका लागि पत्र पठाएका छौं’, अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘गाउँपालिका र आसपासमा उपलब्ध मेडिकल अफिसरसहितको टोली लिएर अहिले गुम्बा पुगेका छौं । बिरामीमध्ये १० जनाको अवस्थामा क्रमश सुधार भइरहेको छ । गुमबा स्वास्थ्यचौकीबाट खटीएको टोलीले उनीहरुका लागि औषधी चलाएपछि सुधार भइरहेको हो ।