युरोपमा सियारा आँधीमा छ जना मारिए

0
Shares

वार्सा, (एजेन्सी)।

युरोपभरि फैलिएको सियारा नामक आँधीबेहरीका कारण कम्तिमा छ जना मानिसको ज्यान जानुका साथै यातायात अवरुद्ध हुन पुगेको छ। अहिले पूर्वी भागमा बढिरहेको सियाराका कारण हजारांै मानिस विद्युत् आपूर्ति सेवाबाट वञ्चित भएका छन्। निकै तिव्र गतिमा आएको हुरीका कारण पोल्यान्डको एउटा स्कि रेन्टल सपको छाना उडाउँदा एक जना महिला र उनका दुईजना छोरीको मृत्यु भएको छ। सो घटनामा ती महिलाका पति गम्भीर घाइते भएका छन्।

त्यसैगरी दक्षिणी स्विडेनमा एउटा डुंगा पल्टिँदा एकजना पुरुषको ज्यान गएको छ। त्यसै गरी यसै आँधीका कारण जर्मनी र स्लोभेनियामा गरी दुईजना मानिसको आ–आफ्नै कारमा मृत्यु भएको सम्बन्धित मुलुकका प्रहरीले जनाएका छन्। यसअघि आइतबार गुडिरहेको कारमा रुख ढल्दा एकजना ५८ वर्षीय बेलायतीको ज्यान गएको थियो।

्रफ्रान्सको मेडिटेरेनियन आइल्यान्ड अफ कोर्सिकामा सोमबार राति २ सय २० किमि प्रतिघन्टाको वेगमा हुरी चल्नुका साथै भीषण वर्षा भएको बताइएको छ। कोर्सिकाका बन्दरगाह र हवाई उडानहरु मंगलबार पूर्ण रूपमा अवरुद्ध भएको बुझिएको छ। साथै हुरीकै कारण यस टापुको उत्तरी भागको एक स्थानमा भीषण आगलागीसमेत भएकोे छ। उत्तरी इटालीमा पनि २ सय किलोमिटर प्रतिघण्टा वेगको हुरी मापन भएको त्यहाँको सरकारी श्रोतले जनाएको छ।

लाम्बार्डीको ट्राओनामा हुरीले उडाएको छानाको भग्नावशेषको प्रहारका कारण एक जना ७१ वर्षिया महिलाको ज्यान गएको छ। युरोपका केही भागमा सवाइन हुरीको नामले पनि चिनिएको सियाराका कारण ठूलो परिमाणमा भौतिक क्षति पनि भएको छ। शुरूमा आइतबार आयरल्यान्ड र बेलायतबाट चलेको यो हुरी युरोपको उत्तरी समुद्री तटतर्फ बढेको हो।