मनाङ उपाधि रक्षा गर्न असफल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

त्रिभुवन आर्मी क्लबको जितले डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लबले जारी सहिद स्मारक ए डिभिजन लिगमा उपाधि रक्षा गर्न असफल भएको छ।मंगलबारको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३–० ले हराएपछि मनाङको उपाधि रक्षा गर्ने संभावना समाप्त भएको हो।

यद्दपि मनाङले हिजै भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० ले हराएको थियो। तर यो जितले मनाङको लागि दोस्रो स्थानसम्म आउने आशा भने यथावत राखेको छ।मनाङ ११औं चरणसम्म आर्मी र मछिन्द्रसँग उपाधि होडमा थियो।१२औं चरणमा जित निकालेपछि शीर्ष तीनमा रहेका आर्मी, मछिन्द्र र मनाङको क्रमशः २९, २८ र २५ अंक रहेको छ।अघिल्लो दिन मछिन्द्रले संकटालाई ३–१ ले पराजित गरेको थियो।

मनाङको जितमा विमल राना र अन्जन विष्टले एक–एक गोल गरेका थिए। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विमलले टोलीलाई अग्रता दिलाएका थिए। उनले ३२औं मिनेटमा आदित्य चौधरीको लामो पासमा गोल गरे। पुलिसका अन्जन राईले सो बललाई क्लियर गर्न नसक्दा विमलले गोल गर्न सफल भएका थिए। योसँगैं विमलको जारी लिगमा व्यक्तिगत ६ गोल भएको छ।

त्यसपछि अन्जनले मनाङका लागि दोस्रो गोल गरे। उनले निशान लिम्बुको पासमा हेडमार्फत् गोल गरेका थिए। यो उनको पनि जारी लिगमा छैटो गोल हो। यससागैं सर्वाधिक गोलकर्ताको सूचीमा ६ गोल गर्नेमा विमल, अन्जन र आर्मीका नवयुग श्रेष्ठ रहेका छन्। उनीहरूभन्दा अगाडि एपीएफका आशीष लामा (८ गोल) र च्यासलका सन्तोष साहुखल (७ गोल) छन्।

यसअघि बेहान भएको खेलमा आर्मीले ब्रिगेडमाथि एकहोरो जित निकाल्दा लिगमा कप्तान भरत खवासले व्यक्तिगत ५०औं गोल गरे। टोलीका लागि भरतले खेलको पाँचौं मिनेटमा गोल गरेका थिए। जर्ज प्रिन्स कार्कीको सानदार क्रसमा भरतले डिबक्सको बायँँबाट हेडमार्फत् गोलको दिशा दिएका थिए।

त्यस्तै विकास तामाङले ५४औं मिनेटमा सन्तोष तामाङको पासमा हेडमार्फत् गोल गरेपछि आर्मी २–० को अग्रतामा रह्यो। टेकबहादुर बुढाथोकीले ७०औं मिनेटमा रिबाउन्ड भएको बललाई सदुपयोग गर्दा आर्मीले जित हात पारेको थियो।

यस्तै हिजै भएको खेलमा थ्रीस्टार क्लबले न्युरोड टिम (एनआरटी) लाई १–० गोलअन्तरले हराएको थियो। दिपेश घलेले ७०औैं मिनेटमा गरेको शसक्त प्रहार गोलमा परिणत भएपछि थ्रीस्टारले अग्रता लिएको थियो। यसपछि कुनै गोल हुन नसकेपछि थ्रीस्टारले स्पष्ट ३ अंक जोड्न सफल भएको थियो। ललितपुरको टोली २३ अंकसहित चौथो स्थानमा रहेको छ।