कांग्रेसले संसद् चल्न दियो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जना विरुद्ध अदालतमा मुद्दा दायर गरेसँगै लगातार तीनपटक संसद अवरुद्ध गरेको कांग्रेसले मंगलबार बैठक चल्न दिएको छ।

प्रतिनिधिसभाको बैठकको सुरुमा बोल्दै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले अख्तियारले सरकारको प्रभावमा परेर राजनीतिक प्रतिसोधका आधारमा आफ्ना नेता गच्छदारलाई भ्रष्टाचार मुद्दा लगाएकाले बताउनुभयो। उहाँले भन्नुभयो–अख्तियारलगायत संवैधानिक अंगहरू सरकारको प्रवाहमा परेर कुनै गलत काम गर्नहुन्न, यसलाई काँगेसले नजिकबाट नियालिरहेको छ।’

सचेतक भुसालले गच्छदारको विषय अदालत प्रवेश गरिसकेकाले अदालतको निष्पक्षता र तटस्थतामा कांग्रेसले विश्वास गर्ने बताउनुभयो। सोही बैठकमा काँग्रेस सांसद् मिनबहादुर विश्वकर्माले चीनबाट फैलिएको कोरोना भाइरसका कारण संसार आक्रान्त भइरहँदा पनि सुनुवाई नभएको भन्दै चीनमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन सरकारसँग माग गर्नुभयो।

सासंद विमला विकले तात्कालिक सरकारले २०७१ सालको बाढीबाट पीडित बर्दिया, बाँके लगायत जिल्लाका जनतालाई भुकम्पप्रभावितलाई जस्तै राहत दिने कार्य अहिलेसम्म कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।

सांसद भवानीप्रसाद खापुङले मुलुकभरका १८ हजार सामुदायिक विद्यालयका प्रारम्भिक बालशिक्षामा कार्यरत शिक्षक र विद्यालयका २६ हजार कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।

साँंसद् भूमिप्रसाद त्रिपाठीले नागढुंगा सुरुङ मार्ग निर्माण कार्यले प्रारम्भमा नै अवरोधको सामना गर्नुपरेको उल्लेख गर्दै धादिङ जिल्लातर्फको सुरुङमार्गको मुखैमा देखिएको जग्गा मुआब्जामको समस्या तत्काल सम्बोधन गर्न सरकारसंग माग गर्नुभयो।

नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले स्वस्थानी ब्रतकथाको पुस्तकका महिलासँग सम्बन्धित कतिपय सन्दर्भको विरोध गर्नुभयो।समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूले आफनो कार्यकालमा भएका निर्णयहरूको जिम्मा लिनुपर्ने जीकिर गर्नुभयो।