बन्यो अत्याधुनिक प्रशोधन केन्द्र

0
Shares

काठमाडौं, (नेस)। 

गुह्येश्वरीस्थित अधिकार सम्पन्न बागमती एकीकृत विकास समिति परिसरमा बनेको अत्याधुनिक फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ।
सोही स्थानमा यसअघि रहेको प्रशोधन केन्द्रको क्षमतालाई समेत अभिवृद्धि गर्दै नयाँ प्रशोधन बनाई दुबै सञ्चालनमा ल्याइएको हो।

आयोजना कार्यान्वयन निर्देशनालयका उपआयोजना निर्देशक उज्वल प्रजापतिले गुह्येश्वरी प्रशोधन केन्द्र सञ्चालनमा आएको बताउँदै भननुभयो–‘प्रशोधन केन्द्रको प्रशिक्षण सम्पन्न भएपछि पूर्ण रुपमा सञ्चालनमा ल्याइएको हो।’

त्यसबाट दैनिक तीन करोड बीस लाख लिटर फोहोर पानी प्रशोधन भई बागमती नदीमा बग्दछ। यसअघिको प्रशोधन केन्द्रसँग एक करोड ६० लाख लिटर प्रतिदिन प्रशोधन गर्नसक्ने क्षमता थियो।

त्यसलाई अभिवृद्धि गर्दै फेरि अर्काे यस्तै क्षमताको नयाँ प्रशोधन केन्द्र निर्माण गरिएको छ।लेदोसहितको पानीलाई प्रशोधन गरी सफा पानी बगाउने उद्देश्यले यो गरिएको निर्देशनालयले जनायो। यसबाट अहिले सफा र गन्धहीन पानी बगिरहेको छ।

उक्त केन्द्रले शिवरात्री मेलालाई समेत लक्षित गरी पशुपति हुँदै बग्ने नदीमा सफा पानीको व्यवस्था गरेको छ। त्यस प्रशोधन केन्द्रमा गोकर्ण, गोठाटार काकलबारी, जोरपाटी, बौद्ध, मित्रपार्क, चाबहिललगायत स्थानको ढल हुँदै संकलन गरी प्रशोधन केन्द्रसम्म पुर्याई प्रशोधन गरी सफा पानीमा परिणत गरी बागमती नदीमा छाडिएको छ।

मेलम्चीबाट पानीको आपूर्ति भएसँगै फोहोर पानीको मात्रामा हुने वृद्धिलाई ध्यानमा राखी काठमाडौंकै विभिन्न चार स्थानमा प्रशोधन केन्द्र बनाउन थालिएको छ।

गुह्येश्वरीको प्रशोधन केन्द्रबाट झण्डै ४ सय ५० किलोवाट बिजुली निकाल्ने योजना रहेको जानकारी दिँदै निर्देशनालयका उपमहानिर्देशक प्रजापतिले भन्नुभयो –‘प्रशोधन केन्द्रमा फोहोर पानी प्रशोधन गरी त्यसबाट निस्कने ग्यासबाट बिजुली निकाल्ने योजना हो। यो निर्माणकै चरणमा छ।’

भारतीय कम्पनी भा टेक वाब्याग लिमिटेडले चार वर्ष लगाएर बनाएको उक्त प्रशोधन केन्द्रको औपचारिक उद्घाटन भने भएको छैन। निर्देशनालयका अनुसार गुह्येश्वरीबाहेक भक्तपुरस्थित सल्लाघारी, ललितपुरको बालकुमारीस्थित कोड्कु र धोवीघाटमा नयाँ र आधुनिक प्रशोधन केन्द्र निर्माण कार्य अघि बढाइसकिएको छ।