२७औं आईजीपीमा ज्ञवाली नियुक्त

0
Shares

दीपक रिजाल, काठमाडौं। 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको २७ औ महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ।उक्त बैठकले १ नम्वर प्रदेश प्रहरी कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी नायव महानिरीक्षक ज्ञवालीलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो।

निवर्तमान आईजीपी सर्बेन्द्र खनालले ३० बर्षे सेवा अवधिका कारण अनिवार्य अवकास पाएपछि ज्ञवाली आईजीपीमा नियुक्त हुनुभएको हो।प्युठानको झिमरुकमा जन्मेका महानिरीक्षक ज्ञवाली २०४६ असार २५ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षकको रुपमा नियुक्त हुनुभएको थियो।

सेवा निबृत्त आईजीपी खनालसंगै प्रहरी संगठनमा प्रवेश गर्नुभएको भए पनि तत्कालिन गृह मन्त्रालयले ज्ञवालीसहितका केही प्रहरी निरीक्षकलाई बैकल्पिक उम्मेदवारको रुपमा नाम निकालिदिएपछि ज्ञवाली लगायतको टोलीले २०४६ असार २५ गते मात्रै नियुक्ति लिएको थियो।

उहाँ २०५८ बैशाख १८ गते प्रहरी नायव उपरीक्षक, २०६६ मंसिर ३ गते प्रहरी उपरीक्षक, २०७३ असार २८ गते प्रहरी बरिष्ठ उपरीक्षक र २०७५ असोज २८ गते प्रहरी नायव महानिरीक्षकमा बढुवा हुनुभएको थियो।

प्रहरीको तल्लो निकायदेखि बिभिन्न कार्यालयमा प्रमुखको भूमिका निभाएका आईजीपी ज्ञवाली प्रहरी संगठनभित्र सरल र निष्ठावान अधिकृतको रुपमा चिनिनुभएको थियो।

कहिल्यै बिवादमा नपरेका आईजीपी ज्ञवालीले ३० बर्षे सेवा अवधिका कारण आगामी असार २५ गते अनिवार्य अवकास पाउनुहुनेछ। २७औँ आईजीपीका लागि उहांसगै डिआईजीमा बढुवा हुनुभएका तारणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय प्रतिस्पर्धामा हुनहुन्थ्यो।

सरकारले बिगतको परम्परालाई कायम गर्दै बरिष्ठताको आधारमा उहांलाई नै आईजीपीमा नियुक्त गरेको थियो। आईजीपी ज्ञवालीले आफ्नो कार्यकालमा कुनै बिवादास्पद काम नगर्ने र संगठनलाई चयालमान बनाएर अगाडि लैजाने बताउनुभएको छ।

यद्यपि उहाँको कार्यकालमा संघीय प्रहरी कानुन कार्यान्वयनमा जाने भएकाले उक्त कानुन कार्यान्वयन गर्न चुनौती देखिने भएको छ। उहाँलाई आज गृहसचिव महेश्वर न्यौपानेले महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गर्नुहुनेछ।

यसैबीच ३० बर्षे कालकाल पुरा गरी आईजीपी खनालसहित एआईजीहरू पुष्कर कार्की, धीरु बस्न्यात, ठुले राईसहित १८ डिआईजीले पनि अनिवार्य अवकास पाउनुभएको छ।

अनिवार्य अवकाश पाउनेमा प्रहरी नायव महानिरीक्षकहरू मनोज न्यौपाने, सुरेश बिक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल बहादुर जिटी, महेन्द्रकुमार पोखरेल, दान सिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकाश श्रेष्ठ, पूर्णचन्द्र जोशी, हरिभक्त प्रजापति र राजेन्द्रमान श्रेष्ठ हुनुुहुन्छ।