पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड मणिलेकलाई


विनोदसिंह विष्ट,बैतडी ।

बैतडीको मेलौलीमा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा २० स्वर्ण, ६ रजत र एक कास्य पदक जितेर मणिलेक मावि प्रथम भएको छ । यसैगरी शितलपुर माविले ५ स्वर्ण, ६ रजत र ७ कास्य पदक जितेको छ । यस्तै विशालपुर मावि २ स्वर्ण, ४ रजत र ७ कास्य पदक जितेको छ ।

यस्तै, मावि सलेनाले १ स्वर्ण, ३ रजत र १ कास्यपदक जितेको छ । यस्तै मावि दुर्गास्थानले १ स्वर्ण र १ कास्य पदक जितेको छ भने कमलपुर माविले १ स्वर्ण र ३ कास्य पदक जितेको छ ।

प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल र एथलेटिक्सका विभिन्न खेलहरु सम्पन्न भएका थिए । भलिबल प्रतियोगितामा छात्र तर्फ मावि सलेना प्रथम, मावि मणिलेक द्वितीय र मावि तिताबै तृतीय भएका छन् ।

यसैगरी, छात्रा भलिबल तर्फ मावि मणिलेक प्रथम, मावि सलेना द्वितीय र मावि विशालपुर तृतीय भएका छन् । माघ २५ गतेदेखि शुरु भएको प्रतियोगितामा नगरक्षेत्र भित्रका १२ ओटा माध्यमिक विद्यालयका १२ छात्र र ९ ओटा छात्रा टीमको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी हुने विद्यालयहरुलाई नगरपालिकाले १५ हजार नगद उपलब्ध गराउनेछ ।

यसैबीच प्रतियोगिताका विजेता खेलाडी तथा विद्यालयहरुलाई एक समारोहकाबीच शिल्ड, पदक र प्रमाण पत्र प्रदान गरिएको छ । मेलौली नगरपालिका वडा नं १ का वडा अध्यक्ष सुरतसिंह नेगीको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा नगरप्रमुख कृष्णसिंह नायक प्रमुख अतिथी रहनुभएको थियो ।

यस्तै, उपप्रमुख राधा ओझा र प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने विशिष्ट अतिथी रहनुभएको थियो । विजेता खेलाडीहरुलाईअ अध्यक्ष, प्रमुख अतिथी, बिशिष्ट अतिथी र अतिथीहरुले शिल्ड, पदक र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।