‘जिम्मेवारी पूरा नगर्नेलाई अख्तियार नै हतियार’


न्युज अफ नेपाल, हेटौंडा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयले आयोगको २९ औं स्थापना दिवस मनाएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्बृद्धि ल्याउन सुशासन कायम गरिनुपर्ने र सुशासन कायम हुन भ्रष्टाचार अन्त्य हुनुपर्ने बताउनु भयो । भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै क्षेत्र लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रदेश सरकार र आफूले सदाचारका काम पूरा गरिरहेको भन्दै मुख्यमन्त्री पौडेलले भन्नुभयो– ‘कार्यालयमा आफूले पाएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीका लागि अख्तियार ठूलो हतियार भएको छ ।’

मुख्यमन्त्री पौडेलले हाल भ्रष्टाचार उजागर भएको भन्दै अख्तियारको कामलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभयो । ‘अख्तियार देखाएर काम नगर्ने परिपाटीसमेत मौलाएर गएको छ,’ –उहाँले भन्नुभयो– ‘यसले सम्बृद्धिको अभियानलाई प्रभाव पार्ने हुनाले सही काम गर्नेले कोही कसैसँग डराउनुपर्दैन ।’ कर्मचारीले आफ्नो काम नगर्नु पनि भ्रष्टाचार हुने भन्दै मुख्यमन्त्री पौडेलले भ्रष्टाचार गर्ने जो कोही भए पनि कारबाही गर्न निर्देशन दिनुभयो ।

उहाँले सबै स्थानमा भ्रष्टाचार रहेको तर देखिने वा नदेखिनेमात्र रहेको दाबी गर्नुभयो । ‘साना/ठूला, देखिने/नदेखिने भ्रष्टाचार छन्,’ -उहाँले भन्नुभयो । अख्तियारलाई परेको अप्ठ्यारोबारे उहाँले पूर्वाग्राही भएर उजुरी दिने चलन बन्द गर्नुपर्ने औंल्याउनुभयो । जसका कारण सरकारी काम बन्द हुनेसम्ममा समस्या आएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।

पूर्वसांसद् तथा भ्रष्टाचारविरुद्ध निगरानी संस्था चितवन सिटीजन जुरी अध्यक्ष भीमबहादुर श्रेष्ठले भ्रष्टाचार न्यूनीकरणमा राजनीतिक क्षेत्र र सरकारको नेतृत्व तहमा भएकाहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले अख्तियारलाई कुनै हालतमा कमजोर बनाउन नहुनेमा जोड दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालय प्रमुख शिवकुमार कार्कीले स्थानीय तहमा भ्रष्टाचार बढेको बताउँदै आयोगको हेटौंडास्थित कार्यालयले चालु आर्थिक वर्षका ७ महिनामा १५ वटा स्टिङ अपरेसन गरेको जानकारी दिनुभयो ।

कार्यालय प्रमुख कार्कीले आयोगमा पछिल्लो समय उजुरी दिने र मुद्धा दर्ता वृद्धि भएको बताउनुभयो । साउनदेखि हालसम्म ८ सय ४१ वटा मुद्धा आयोगमा दर्ता भएको उहाँले बताउनु भयो ।

स्थापना दिवसमा आयोजित कविता प्रतियोगितामा प्रथम हुने सुनिता बटाला, दोस्रो हुने पुजन ढुंगाना, तृतीय हुने वसन्त दाहाल र सान्त्वना हुने कुवेर पराजुलीलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । हेटौंडामा दोस्रो स्थान ल्याउनुभएका पुजन राष्ट्रिय कविता प्रतियोगितामा प्रथम हुनुभएको थियो ।

वक्तृृत्वकला प्रतियोगितामा प्रथम हुने सम्बृद्धि देव, द्वितीय हुने सुष्मा पुडासैनी, तृतीय हुने कलश न्यौपाने र सान्त्वना हुने निशा ढुंगानालाई पनि पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा जिसस मकवानपुर प्रमुख रघुनाथ खुलाल, प्रदेश प्रमुख सचिव तोयम राय, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, बागमती प्रदेश पत्रकार महासंघ अध्यक्ष प्रताप बिष्ठ र आयोगका सिनियर डिभिजन इञ्जिनियर अखण्ड शर्मालगायतले आफ्ना भनाइ राख्नुभएको थियो ।