गुण्डा नाइके रमेश बाहु्नलाई १० वर्ष कैदको फैसला


न्युज अफ नेपाल, काठमाडौं ।

गुण्डा नाइके सुजन पौडेल (रमेश बाहुन)लाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजाय हुने भएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबार लागूऔषध कारोबार र हातहतियार तथा खरखजना ऐनअनुसार सजाय सुनाएको हो ।

प्रहरीको इन्काउन्टर योजनाबाट जोगिएका गुण्डा नाइके  बाहुन लागुऔषध मुद्दामा दोषी ठहर भएका हुन्।

न्यायाधीश नवराज दाहालको इजलाशले २०७१ साल साउन १४ गते उनीविरुद्ध दायर लागुऔषध मुद्दाको अभियोग सदर गर्दै सजाय तोकेका हुन्। उनी २०७१ साउन १९ गतेदेखि पूर्पक्षका लागि कारागारमै छन्।

भारतमा लुकेर बसेका उनलाई प्रहरीले २०७१ असार १० गते कलंकीबाट पक्राउ परेको भन्दै सार्वजनिक गरेको थियो। प्रहरीले कल‌ंकीको खसी बजार छेउँमा हिडिरहेको बेला उनलाई नियन्त्रणमा लिँदा उनको साथबाट २८ दशमलव ४ ग्राम खैरो हिरोइन र पेस्तोल बरामद भएको दावी गरेको थियो।

काठमाडौं उपत्यकामा गुण्डागर्दी मार्फत अबैध रकम असुलीमा स‌ंलग्न उनी लागुऔषध कारोवारमा समेत संलग्न रहेको प्रहरीको दावी थियो। सोही आधारमा उनीमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ को ६ ९२०अनुसार मुद्दा दायर गरिएको थियो।