उपाधिको टुङ्गो अन्तिम खेलबाट हुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। 

जारी सहिद स्मारक ए डिभिजन लिगमा उपाधि विजेताको टुङ्गो अन्तिम खेलबाटै तय हुने भएको छ। सोमबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मछिन्द्रले छिमेकी टोली संकटा क्लबलाई ३–१ गोलअन्तरले हराएपछि विजेताको घोषणा हुने अन्तिम खेलसम्म कुर्नु परेको हो।

जितसँगैं १२ खेलमा २८ अङ्क जोडेर शीर्ष स्थानमा पुग्दा मछिन्द्रले त्रिभुवन आर्मी क्लबमाथि २ अङ्कको अग्रता लिएको छ। आर्मीले भने १२आँै चरणको खेल खेल्न बाँकी नै छ, जसमा ब्रिगेड ब्वाइज क्लबसँग आज बिहान खेल्दै छ। तर यस खेलको नतिजा जस्तोसुकै आए पनि मछिन्द्र र आर्मीबीच हुने फागुन ३ गतेको खेल फाइनल सरह नै हुनेछ।

सोही खेलबाट उपाधि विजेताको टुङ्गो लाग्नेछ। साथै सो खेल जारी लिगको अन्तिम खेल समेत हो।मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई बी र दीपक राईले गोल गरेका थिए। देवेन्द्रले पहिलो हाफ सकिन लाग्दा रञ्जित धिमालको कर्नरमा हेड गर्दै संकटाको जाली चुमाएका थिए।

त्यस्तै ६४औं मिनेटमा विशालले फ्रिकिक प्रहारलाई गोलमा परिणत गर्दा ८२औं मिनेटमा दीपकले रञ्जितकै पासमा गोल गरेपछि मछिन्द्रले स्पष्ट ३ अङ्क जोड्न सफल भयो। संकटाका लागि मसोउकीले अन्तिम मिनेटमा एक गोल फर्काएका थिए। यो हारपछि संकटा १२ खेलमा १५ अङ्क जोडेर सातौं स्थानमा रहेको छ।

एपीएफको जितले सरस्वती रेलिगेसनमा

सरस्वती युवा क्लब सहिद स्मारक ए डिभिजन लिगबाट रेलिगेसन भएको छ। हिजो भएको खेलमा च्यासल युवा क्लबलाई २–१ को नतिजा सुम्पेपछि सरस्वतीको बी डिभिजनमा झर्ने तय भएको थियो।

१२ खेलबाट ४ अंक जोडेको टोलीका लागि अन्तिम खेल खेल्न अगावै ए डिभिजनको यात्रा टुंगियो। यसअघिको खेलमा नेपाल एपीएफ क्लबको जितले पनि कोटेश्वरको टोलीलाई बी डिभिजनमा घटुवा बन्न बाध्य बनाएको थियो।

जित हात पारेको एपीएफले ८ अंक जोडेर आफुलाई रेलिगेसन हुने संभावनाबाट जोगाएको थियो। ११औं चरणसम्म रेलिगेसनकै क्षेत्रमा रहेको एपीएफले फ्रेन्डस्लाई ५–२ ले हराएको थियो।

सरस्वतीले जारी लिगमा शुरुवातदेखि नै कमजोर प्रदर्शन गर्दै आएको हो। टोलीले १२ खेलमध्ये १० मा हार आत्मसात गरेको छ। हिमालयन शेर्पालाई हराउनु एक मात्र जित हो। टोलीले विपक्षीको पोस्टमा ८ गोल प्रहार गर्दा आफ्नो पोस्टमा ३० गोल आत्मसात गरेको छ।

तस्वीर : उजोल डंगोल