कोरोना भाइरस संक्रमण प्रभाव : चीन र विश्वकै अर्थव्यवस्थामा नकारात्मक असर

0
Shares

वेइजिङ, (एजेन्सी)।

चीनमा कोरोना भाइरसका कारण एकातर्फ जनजीवनमा खतरा र त्रासदी फैलिरहेको छ भने अर्कोतर्फ अर्थव्यवस्थामा पनि यसको मार परिरहेको छ। चीनमा मात्र यस भाइरसको संक्रमणबाट मर्नेको संख्या ९ सय ८ पुगिसकेको छ भने यसबाट संक्रमित संख्या ४० हजार नाघिसकेको छ।

चीनको अर्थव्यवस्थालाई परेको नोक्सानको सबैभन्दा ठूलो कारण भनेको भाइरस फैलनबाट रोक्नका लागि हुने खर्च हो। बुहान शहरबाट बाहिर जान पूरै प्रतिबन्ध लगाइएको छ। बुहानमा करिब एक करोडभन्दा धेरै आवादी छ।

हुबेई प्रान्तका अन्य हिस्सामा पनि आवागमन प्रतिबन्ध लगाइएको छ। प्राणघातक नोबल कोरोना भाइरसको केन्द्र मानिएको ती ठाउँहरूमा कारोबारसम्बन्धी यात्रा, सामान तथा नागरिक आवागमनमाथि रोक लगाइएको हो।

भाइरसको डरले त्यहाँका बासिन्दा बाहिर निस्कन पनि बचिरहेका छन्। यहाँ रेस्टुरेन्ट, सिनेमा हल, परिवहन, होटल र पसलहरूमा यसको प्रष्ट असर देख्न सकिन्छ।चीनमा नयाँ वर्षको संघारमा कोरोना भाइरस फेलिनाले त्यहाँको व्यापारिक उद्योगहरूले ठूलो नोक्सान ब्यहोरिरहेका छन्। उक्त भाइरस संक्रमणका कारण चीनमा नयाँ वर्षको छुट्टी पनि बढाइएको छ। जसले व्यापारिक काम शुरु हुनुमा ढिलाइ भएको छ।

चीनका उद्योगपतिलाई चीनभित्र मात्र नभई चीनबाहिर पनि नोक्सान झेल्नुपरिरहेको छ। विदेशी व्यवसायी तथा जनता चीनमा बनेका सामान किन्न हच्किरहेका छन्।

यस भाइरसका कारण आफ्ना उपभोक्ताहरु पनि दबाबमा परिरहेको र उनीहरू चीनबाहेक अरूबाट सामान लिने प्रयासमा रहेको उद्योगपति हर्बर्ट वुनले बताए। उनी ग्वागदोङ प्रान्तस्थित ‘विङसँग इलेक्ट्रिकल’ कम्पनीका मालिक हुन्। उक्त कम्पनीले हेयर स्टे«टनर्स र ब्लो ड्रायर्सजस्ता सामानहरू उत्पादन गर्छ।

कयौं ठूला कम्पनीहरू आईकिया, स्टारबक्सले आफ्नो कारोबार चीनमा बन्द गरेको छ। कयौं एयरलाइन्सले पनि आफ्ना उडान रद्द गरिरहेका छन् र अन्तर्राष्ट्रिय होटल आफ्ना ग्राहकहरूको अग्रिम भुक्तानीबाट प्राप्त पैसा फिर्ता गरिरहेका छन्।

दक्षिण कोरियाको कम्पनी ह्युन्डाइले आफ्नो गाडीको उत्पादन केही समयका लागि बन्द गरेको छ। किनभने चीनबाट उक्त गाडीका लागि आवश्यक पार्टस् सप्लाइ हुन पाइरहेको छैन।मोटर इन्डस्ट्री र इलेक्ट्रोनिक्स इन्डस्ट्रीमा चीन एक ग्लोबल आपूर्तिकर्ता पनि हो। कयौं मोबाइल र कम्युटर कम्पनीका पार्टपुर्जा चीनमा बन्ने गरेको छ।

योबाहेक चीनको वित्तीय बजारमा पनि यसको प्रभाव परेको छ। चीनको स्टक मार्केट छुट्टीपछिको पहिलो दिन ८ प्रतिशतले गिरावट आएको थियो। व्यापारिक गतिविधिमा आएको गिरावटको नतिजा प्रष्ट रूपमा तेलको मागमा आएको कमीलाई हेर्न सकिन्छ। चीनको प्रमुख तेल कम्पनी सिनापेकको एक प्रतिवेदनमा दुई हप्तामा तेलको माग १५ प्रतिशतसम्म कम भएको उल्लेख छ।

विश्व आर्थिक पूर्वानुमान प्रक्षेपण गर्ने संस्थामध्ये एक कन्सल्टेन्सी अक्सफोर्ड इकोनोमिक्सका अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा चीनको अर्थव्यवस्था गत वर्षको तुलनामा ४ प्रतिशत कम बृद्धि हुनेछ। पुरै वर्षका लागि ५ दशमलव ६ प्रतिशत औषत बृद्धि अुनमान गरिएको छ।

कोरोना भाइरसको समस्या आउनुपूर्व यो अनुमान ६ प्रतिशत लगाइएको थियो।यसै हप्ता अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिवाले कोरोना संकटका कारण केही समयका लागि भए पनि विश्व अर्थव्यवस्था सुस्त हुन सक्ने सम्भावना रहेको बताएकी छिन्।