तिमिल्सिना र फ्युरी भेटवार्ता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ।राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार सिंहरबारमा उहाँसँग भेटवार्ता गरेको हो।

भेटका क्रममा नेपाल र क्यानडाबीच कूटनीतिक सम्बन्ध, मित्रता, समझदारी, संसदीय सहकार्यलगायतका विषयमा कुराकानी भएको थियो। सो अवसरमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुत बनाउन सहयोग पुर्याउने बताउनुभयो।

‘दुई देशबीच संसदीय सम्बन्धमा यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो’, उहाँले भन्नुभयो– ‘म आशा गर्दछु भविष्यमा दुवैतर्फबाट यस किसिमका भ्रमणहरूको निरन्तरता हुनेछ।’

उहाँले दुवै देशका संसद्मा संसदीयमैत्री समूह गठन भएकोमा खुसी व्यक्त गर्नुभयो। ‘संसद्मैत्री समूहले दुई देशका संसद्बीचको सम्बन्धलाई प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्’ –उहाँले भन्नुभयो।

अध्यक्ष तिमिल्सिनाले नेपाल राजनीतिक स्थिरताको अन्त्य गरी आर्थिक विकास र समृद्धि हासिल केन्द्रित रहेको बताउनुभयो। ‘हामीले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्य लिएका छौं’, उहाँले भन्नुभयो– ‘सरकारको प्राथमिकता कृषिको अधुनिकीकरण, जलविद्युत्, पूर्वाधार विकासलाई तीव्रता दिने, पर्यटनको सम्भावनालाई मूर्तरूप दिने र यी सबैका लागि मानव संशाधन विकास गर्ने रहेको छ।’

सो क्रममा उहाँले नेपालका यी प्राथमिकता र उद्देश्यमा क्यानडालगायत अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो।
भेटका क्रममा क्यानडाको उपल्लो सदन (सिनेट) सभामुख जर्ज जे फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्त्वका साथ लिएको बताउनुभयो।
उहाँले नेपाल एकात्मक राज्य प्रणालीबाट संघीय राज्य भएको बताउँदै यसका चुनौतीबारे क्यानडा जानकार रहेको बताउनुभयो।

क्यानडा पनि संघीय मुलुक भएको बताउँदै सभामुख फ्युरीले नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसैबीच नेपाल भ्रमणमा रहेका क्यानेडियन सिनेटका सभामुख जर्ज जे फ्युरीले सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट नगर्ने हुनुभएको छ।

फ्युरीले प्रधानमन्त्री केपी शर्मा ओली, पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेटघाट गर्ने कार्यतालिका भए पनि सभामुख सापकोटासँग भेट गर्ने कार्यक्रम छैन।

सभामुख सापकोटाका स्वकीय सचिव सागर केसीले क्यानेडियन सिनेटका सभामुख फ्युरीसँग सभामुख सापकोटाको भेटघाटको कार्यक्रम नरहेको बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘भेटघाटको कार्यतालिका पहिला नै तय भएकाले अहिले भेटघाटको कार्यक्रम नराखिएको हुन सक्छ।’
भ्रमण पहिला नै तय भएकाले प्रतिनिधिसभाको सभामुखसँग भेटघाट नहुने भएको सभामुखको सचिवालयले बताएको छ।

क्यानेडियन सभामुख फ्युरीले आज मंगलबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओली, बिहान ११ बजे परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र त्यसलगत्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट गर्ने कार्यक्रम रहेको छ।

दिउँसो २ बजे पाटन सङ्ग्रहालयमा अवलोकनपछि सभामुख फ्युरी साढे २ बजे स्वदेश फर्कने कार्यतालिका रहेको छ। समकक्षीको रूपमा रहनुभएका सभामुख सापकोटालाई क्यानेडियन सभामुख फ्युरीले भेटवार्ता नगर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।