प्रधानमन्त्री निर्दोष, मन्त्री दोषी ?

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पहिलेको शाही आयोगजस्तै अहिले ओली आयोग बन्दै गएको आरोप लगाउनुभएको छ।

बालुवाटार जग्गा प्रकरणमा कांग्रेस पूर्वमन्त्रीसमेत रहेका उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले अख्तियारविरुद्ध विरोधका स्वरहरूलाई बढाउँदै लगेको छ।

यसै सन्दर्भमा नेपाल समाचारपत्रसँग कुरा गर्दै नेता खतिवडाले भन्नुभयो– ‘कांग्रेसको विरोध आफ्नो नेतालाई मुद्दा लगायो भन्ने होइन, अख्तियारले पक्षपातपूर्ण काम गर्यो भन्ने हो।’

कानुन सबैलाई बराबर हुने भन्दै उहाँले थप्नुभयो– ‘एउटै मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्री निर्दोष मन्त्री दोषी कसरी हुन्छ?’
कांग्रेस कानुनी राज्यको पक्षमा रहेको भन्दै खतिवडाले कांग्रेसले नै निष्पक्ष र स्वतन्त्र छानबिन गर्न अख्तियारलाई संवैधानिक आयोग बनाएको बताउनुभयो।

बालुवाटार प्रकरणमा कांग्रेसले शुरूदेखि नै निष्पक्ष छानबिन गर्न माग गरेको भन्दै उहाँले कम्युनिस्ट सत्ताको प्रभावमा अख्तियारले पूर्वाग्रहको आधारमा मुद्दा दायर गरेपछि कांग्रेसले विरोध गर्नुपरेको दाबी गर्नुभयो।

सार्वजनिक लेखा समितिमा समेत कार्य गरिसक्नुभएका नेता खतिवडाले भन्नुभयो– ‘मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्रीको नीतिगत हुने मन्त्रीको नहुने के हो?’

कांग्रेसको माग पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई, पूर्वमुख्य सचिव लीलामणि पौडेल, नेकपा नेता विष्णु पौडेललगायतलाई पनि यो प्रकरणमा मुद्दा लाग्नुपर्ने रहेको छ।

नेपाली कांग्रेस तराईमा बलियो रूपमा रहेका बेला तराई क्षेत्रका प्रभावशाली नेताहरू अख्तर अलाम र विजय गच्छदारलाई साइड लगाएपछि आफू बलियो हुने कम्युनिस्ट पार्टीको धारणा हुनसक्ने कांग्रेसका नेताहरूले बताउँदै आएका छन्।

त्यसो त गच्छदारलाई साइड लगाउँदा कांग्रेस पार्टीभित्रका नेताहरूलाई पनि फाइदा पुग्ने कतिपय नेताको अनुमान छ। नाम उल्लेख नगर्ने सर्तमा कांग्रेसका एक प्रभावशाली नेता भन्छन्– ‘कांग्रेसको १४औं महाधिवेशनमा गच्छदार उपसभापति हुने पक्कापक्की छ। गच्छदार साइड लागेपछि यसको प्रत्यक्ष लाभ अर्का उपसभापति विमलेन्द्र निधिलाई हुनेछ।’