बोधि श्रवण धर्म संघले भन्यो– ‘प्रहरीले शान्तिपुर्ण वातावरणमा त्रास फैलायो’


बुद्ध नेपाली, सिन्धुली ।

बोधि श्रवण धर्म संघ केन्द्रिय समितिले तपस्वी राम बहादुर बम्जनलाई शंका गर्नुपर्ने कुनै कारण नरहेको बताएको छ । बोधि श्रवण धर्म संघ केन्द्रिय समितिले सोमवार बम्जनको आश्रम स्थल सिन्धुलीको कमलामाई नगरपालिका–८ पैरेमा पत्रकार सम्मेलनको आयोजना गरेर तपस्वी बम्जन माथि लगाइएको आरोप सत्य नभएको दाबी गरेको हो ।

जिल्ला अदालत सर्लाहीले बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि गत माघ २४ गते बम्जनको आश्रममा प्रहरी पुगेको थियो । तर प्रहरीले बम्जनलाई फेला भने पारेको छैन् । अहिले पनि प्रहरीले बम्जनको आश्रमस्थल पैरेमा घेरा हालेर बम्जनको खोजतलास तथा अनुसन्धान गरीरहेको छ ।

आश्रममा प्रहरीले अचानक छापा मारेको बिषयलाई लिएर समितिले सोमवार पत्रकार सम्मेलन गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै बोधि श्रवण धर्म संघ केन्द्रिय समितिका अध्यक्ष निल बहादुर थिङ्खले बम्जन माथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको दावी गर्नुभएको छ ।
प्रहरीले बम्जनको आश्रममा गरेको खानतालासी प्रति असन्तुष्टी जनाउदै उहाँले भन्नुभयो, ‘अनुसन्धान हुनुपर्छ । त्यसमा हाम्रो कुनै मतभेत छैन । न्याय सबैले पाउनुपर्छ तर सत्य र असत्य दुवै छुट्याउनुपर्छ । संविधान, कानुन विधि अनुसार अनुसन्धान हुनुपर्छ’ ।

बम्जनलाई खोजतलास गर्नेक्रममा प्रहरीले बम्जनको आश्रममा तोडफोड गरी प्रवेश गरेको प्रति आपत्ती जनाउदै शान्त, सालिन वातावरण र धार्मिक आस्था माथि अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार प्रहरी प्रशासनले गरेको समितिका अध्यक्ष थिङ्खले बताउनुभयो ।
अभियोग लागेका व्यक्तिलाई अदालतमा उपस्थित हुन म्याद टास नगरी त्रास पुर्ण तरिकारले संविधान र आचार संहिता विपरित प्रहरीले खानतलासी गरेको उनको आरोप छ ।

उहाँले बोधि श्रवण धर्म संघले सरकारलाई न्याय र न्यायोचित विधि प्रक्रिया र व्यवहारमा सधै साथ दिने बताउनुभयो । तपस्वी बम्जन माथि एक अनुयायीको हत्या र तीन आनी बेपत्ता पारेको आरोप लागेको छ । बम्जन आश्रमबाट बेपत्ता भएको र बलत्कारको समेत आरोपमा उजुरी परेपछि उनको सिन्धुपाल्चोक बाडेगाउँ आश्रम सिल गरि प्रहरीले छानविन समेत गरेको थियो । त्यसबेला पनि प्रहरीले पैरे आश्रममा खोजतलास गरेको थियो ।

पैरेमा बम्जनको आश्रम करिब ४२ बिगाहामा फैलिएको छ । २४ बिगाहाको लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा रहेको स्थानीयको भनाई छ ।

जिल्ला अदालत सर्लाहीले आरोपित बम्जन पक्राउ गर्न गत माघ २४ गते बिहीबार पूर्जी जारी गरेपछि सिआइवी, प्रदेश नम्बर दुईको दंगा नियन्त्रण टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले कमलामाई नगरपालिका ८ पैरेस्थित बम्जनको आश्रममा खानतलासी गरेको थियो ।