जापानको क्रुजमा सवार कोरोना संक्रमित यात्रुको संख्या १ सय ३६ पुग्यो


टोकियो ।

जापानको क्रुजमा सवार कोरोना संक्रमित यात्रुको संख्या १ सय ३६ पुगेको छ। जापानको डाइमन्ड प्रिन्सेस जहाजबाट क्‍वारेन्टाइन गरिएका थप ६६ यात्रुमा कोरोनाको संक्रमण भएको पुष्टि गरिएपछि सो संख्या पुगेको सोमबार जापानी सञ्‍चारमाध्यमहरुले जनाएका हुन् ।

डाइमन्ड प्रिन्सेस जहाज जापानको योकोहामा बन्दरगाहमा दुई सातादेखि क्‍वारेन्टाइन गरिएको जहाजमा सवार एक ८० वर्षीय हङकङका वृद्धमा भाइसको संक्रमण भएको पाइएपछि अन्‍यमा पनि कोरोनाको परीक्षण गरिएको थियो । अहिले उनको उपचार भइरहेको अन्तरराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।

११ सय चालक दलका सदस्य र २ हजार ६ सय ७० यात्रु सवार उक्त जहाजमा क्‍वारेन्टाइन गरिएका यात्रुहरुलाई सिफ्ट अनुसार ताजा हावा लिन बाहिर आवतजावत गर्न दिइएको बताइएको छ ।

आइतबारसम्म ७० जनामा भाइरस सरेको पुष्टि भएको थियो। चीनबाहिर यति ठूलो मात्रामा संक्रमण फैलिएको यो पहिलो घटना हो। परीक्षण कार्यमा ढिलाइ भएको भन्दै जहाजमा अड्किएकाले आक्रोश व्यक्त गरेका छन्। कतिपय यात्रुले क्रुजसिपको बसाइ पट्यारलाग्दो भएको भन्दै उद्दारका लागि अपिल गरेका छन्। जहाजभित्रको हृदयविदारक भिडियो दृष्यहरू मिडिया र आफन्तलाई पठाइराखेका छन्।

अन्य रोगबाट ग्रसितहरूको स्थिति बिग्रँदै गएको बताइएको छ। यसबारे जापानका स्वास्थ्यमन्त्री कात्सुनोबु कातोले भने– ‘हामीले बाहिर रहेका सर्वसाधारणको भयलाई पनि नजरअन्दाज गर्न मिल्दैन। आवश्यक सबै परीक्षण सकिएपछि मात्रै क्रुजसिपमा सवारलाई बाहिर निस्कन दिइनेछ।’

अन्य रोगबाट ग्रसित यात्रुलाई जहाजमै उपचारको व्यवस्था मिलाइएको, समयमै खाना खान दिइएको, हेरचाहमा कुनै कसर बाँकी नराखिएको स्वास्थ्यमन्त्री कात्सुनोबु कातोले बताए । ‘परीक्षण पूरा हुन थप एक साता लाग्नेछ। यो १४ दिनको क्वारेन्टाइन हो। कोरोना भाइरसको लक्षण देखिन औसतमा १४ दिन लाग्छ। त्यसपछि कोरोना पुष्टि भएकालाई अस्पताल लान्छौं। बाँकीलाई घर पठाउँछौं’ –एक स्वास्थ्यकर्मीले बताए ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको प्रकोपमा परी ९ सय १० जनाको मृत्यु भइसकेको छ भने ४० हजारभन्दा बढी संक्रमित भएका छन् ।

एजेन्सी