ललिता निवासको जग्गा खरिदमा ५० लाख बढी राजस्व छुट दिएको खुलासा


न्युज अफ नेपाल, काठमाडौं ।

गैरआवासीय नेपाली संघले बालुवाटारस्थित ललिता निवासको जग्गा खरिद गर्दा तत्कालिन सरकारले ५० लाख ८८ हजार रुपैयाँ बराबरको राजस्व छुट दिएको दाबी गरेको छ

०७२ साल ३१ बैशाखमा सरकारले आफूहरूलाई उक्त राजस्व मिनाहा गरेको संघका प्रवक्ता डीबी क्षेत्रीले दाबी गरेका हुन् । संघले राजस्व छुट पाउँदा स्व. सुशील कोइराला प्रधानमन्त्री थिए । तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाको प्रस्तावमा मन्त्रिपरिषद बैठकले संघलाई राजस्वमा छुट दिने निर्णय गरेको प्रवक्ता क्षेत्रीले बताएका छन् ।

ललिता निवासको जग्गा संघको नाममा आउनुभन्दा पहिला नै सरकारले राजस्व नलिने निर्णय गरेको देखिन्छ । किनभने, संघले १४ जेठ २०७२ मा आएर मात्रै जग्गा आफ्नो नामसारी गरेको देखिन्छ । गैरआवासीय नेपाली संघले १२ करोड ७२ लाख रुपैयाँमा ललिता निवासको तीन रोपनी जग्गा किनेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघमा १ सय ७५ जना विरुद्ध विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा गैरआवासी नेपाली संघलाई पनि प्रतिवादी बनाएको छ ।

आयोगले संघलाई जग्गा फिर्ता प्रयोजनका लागि विपक्षी बनाएको हो । साविक हाँडीगाउँ मौजा ४५६ नम्बरको लगत भिड्ने सरकारी जग्गा आफ्नो नाममा राखेको अभियोग छ ।