एकहप्ते नाटक महोत्सव सुरु

0
Shares

इलाम, (नेस)।

कला, संस्कृतिको जगेर्ना र यसको प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारबाट इलाममा एकहप्ते ‘इलाम राष्ट्रिय नाटक महोत्सव–२०७६’ सुरु भएको छ। एक हप्तासम्म सञ्चालन हुने महोत्सवमा सातवटै प्रदेशका १/१ वटा नाटक मञ्चन हुनेछ।

हरेक प्रदेशको मौलिक लोक कथाको खोजी गरी छनोट भएर आएका नाटक महोत्सवमा मञ्चन हुनेछ।
प्रत्येक दिन नाटककै बारेमा कार्यशाला समेत हुनेछ। सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको आयोजना तथा इलाम नगरपालिकाअन्तर्गत सहित्य, कला, संगीत प्रतिष्ठान र चेतना नाट्य समूहको सह–आयोजनामा महोत्सव सुरु भएको हो। संस्थानले प्रत्येक प्रदेशबाट प्रतिनिधित्व रहनेगरी नाटक छनोट गरेको हो।

महोत्सव अवधिभर प्रदेश १ बाट ‘सुम्निमा–पारुहाङ’, २ बाट ‘कनन हरलता’, बागमतीबाट ‘राजकुमार मल्ल युद्ध’, गण्डकीबाट ‘नमबुद्ध’, ५ बाट ‘कुजरी’ कर्णालीबाट ‘छैंटी’ र प्रदेश ७ बाट ‘लोली सञ्जा’ नाटक मञ्चन हुनेछ। आयोजकको तर्फबाट ‘थान’ नामक नाटक मञ्चन हुने प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले जानकारी दिनुभयो।

यता महोत्सवको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभयो। उहाँले समृद्धिको मूल आधार संघीयता भएको जनाउँदै नाटक पनि संघीयता ढाँचामा मञ्चन हुने भएकाले यसले थप हौसला थपेको बताउनुभयो।

भौतिक पूर्वाधार मात्र विकास निर्माण नभएको जनाउँदै राईले कला, भाषा, संगीत, साहित्यको पनि उत्तिकै विकास हुनु पर्नेमा जोड दिनुभयो। यस क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले कुनै कसुर बाँकी नराख्ने पनि बताउनुभयो।