आगलागीमा आमा र छ सन्तानको मृत्यु

0
Shares

न्युयोर्क ,(एजेन्सी)।

अमेरिकाको मिसिसिपी राज्यस्थित आफ्नो घरमा शनिबार बिहान आगलागी हुँदा एकजना महिला र उनका छ जना सन्तानको जलेर मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन्। क्लिन्टन शहरको सो काठको घरमा आगो लाग्दा ती महिलाका पति मात्र बच्न सफल भएका छन्।

उनलाई पनि जलेको र धुवाँनिलेर निस्सासिएको अवस्थामा उद्धार गरेर अस्पताल लगिएको हो। आगलागीको कारण खुल्न सकेको छैन। स्थानीय अधिकारीहरुले प्रारम्भिक अनुसन्धानबाट यस घटनामा कुनै अपराधिक षड्यन्त्रको गन्ध नरहेको तथा विद्युतीय गडबडीका कारण दुर्घटना भएको हुनुपर्ने अमेरिकी सञ्चार माध्यमलाई बताएका छन्।

राज्यको राजधानी ज्याक्सनदेखि करिब १६ किलोमिटर टाढाको क्लिन्टनमा रहेको सो घर सन् १९५१ मा निर्माण गरिएको हो। चोरीबाट बच्नका लागि झ्यालमा राखिएका ग्रिलका कारण पनि पीडितहरु भाग्न नसकेको देखिएको प्रहरीले जनाएको छ।

स्थानीय प्रशासनले ३३ वर्षीया मृतक महिला प्राथमिक विद्यालयका शिक्षिका भएको उनका पाँचजना छोरा र एकजना छोरी एकदेखि पन्ध्र वर्ष उमेरबीचका भएको बताएको छ। एनबीसी न्युजले निकै मिलनसार र असल परिवारको यसरी दुखद् मृत्यु भएकामा सारा छिमेकी शोकाकुल भएको जनाएको छ।

अग्नि नियन्त्रण प्रमुख जेफ ब्ल्यालेजलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले पाँचजना बालबालिका एउटा कोठामा एकै ठाउँमा एकआपसमा टाँसिएको अवस्थामा र आमा र एक सन्तान अर्को कोठामा मृत अवस्थामा फेला परेको जनाएको छ। आफ्नो परिवारलाई बचाउने प्रयासमा पिता घाइते भएको बुझिएको छ। स्थानीय समयअनुसार शनिबार राति साढे बाह« बजे शुरू भएको सो आगो नियन्त्रणमा लिन ४० मिनेट लागेको थियो।