श्रीलंकाली प्रधानमन्त्री राजपाक्षे भारत भ्रमणमा

0
Shares

नयाँदिल्ली, (एजेन्सी)।

भारतको ५ दिने भ्रमणका लागि शनिबार नयाँदिल्ली पुगेका श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गरेका छन्।

वार्तामा दुई देशबीच संयुक्त आर्थिक परियोजना, व्यापार, लगानी, कनेक्टिविटी बढाउने, सुरक्षा तथा आतंकवादजस्ता विषयमा छलफल भएको बताइएको छ।

श्रीलंकाको प्रधानमन्त्री पद सम्हालेपछिको राजपाक्षेको यो पहिलो विदेश भ्रमण हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले ट्विटमा प्रधानमन्त्री मोदीको निमन्त्रणमा श्रीलंकाका प्रधानमन्त्री भारत आएको उल्लेख गरेको छ।

सन् २०१९ मा भएको राष्ट्रपति चुनावमा महिन्दा राजपाक्षेका भाइ गोटोभाया राजपाक्षेको तात्कालिन राष्ट्रपति मैत्रिपाला सिरिसेनासँग प्रतिस्पर्धा थियो जसमा गोटोभाया विजयी भएका थिए। महिन्दा राजपाक्षेलाई श्रीलंकाको राजनीतिमा चीनको नजिक बताइन्छ। उनका भाइ गोटोभाया पनि चीनप्रति नै झुकाव भएको मानिन्छ।

चीन श्रीलंकामा लगातार आफ्नो प्रभाव बढाउने प्रयासमा छ र श्रीलंकामा त्यसको स्वागत पनि भएको छ। श्रीलंकाको चीनप्रतिको बढ्दो झुकाव दक्षिण एसियामा भारतका लागि चिन्ताको विषय भएको आँकलन भइरहेकै बेला श्रीलंकाका नयाँराष्ट्रपति र प्रधानमन्त्री दुवैले आफ्नो पहिलो विदेश यात्रा भारतबाट शूरु गरेका छन्।

यसले दुई देशबीचको सम्बन्धमा परिवर्तन आएको अनुमान गरिएको छ।श्रीलंकाले आफ्नो हम्बनटोटा बन्दरगाह चीनको मर्चेन्ट पोर्ट होल्डिग्स लिमिटेड कम्पनीलाई ९९ वर्षका लागि लिजमा दिइसकेको छ। सन् २०१७ मा उक्त बन्दरगाह १ अर्ब १२ करोड डलरमा उक्त कम्पनीलाई सुम्पेको थियो।

साथै बन्दरगाहनजिकको करिब १५ हजार एकड भूमि एक औद्योगिक क्षेत्रका लागि चीनलाई लिएको थियो।पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेको कार्यकालको अन्तिम वर्षमा चीनले हम्बनटोटा बन्दरगाह, एक नयाँविमानस्थल, एक कोल पावर प्लान्ट र सडक निर्माणमा ४ अर्ब ८० कारेड डलर लगानी गरेको थियो।

सन् २०१६ सम्ममा यो ऋण लगानी ६ अर्ब पुग्यो। वर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति रहेका थिए।

भाइ गोटोवाया राष्ट्रपतिमा निर्वाचित भएपछि तात्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजीनामा दिएर महिन्दा राजपाक्षेका लागि प्रधानमन्त्री बन्ने मार्ग प्रसस्त गरिदिएको थियो।