इकोनोफिजिक्स : अर्थशास्त्रको क्षेत्रमा थपिएको नयाँ अवधारणा

940
Shares

राजेन्द्र अधिकारी

सन् १९९५ मा भारतको कलकत्तामा जटिल प्रणालीहरूको गतिशीलतासम्बन्धी एउटा सम्मेलनमा भौतिकशास्त्री युजिन एच स्टेन्टले पहिलो पटक ‘इकोनोफिजिक्स’ शब्दको प्रयोग गरेका थिए। त्यसपछाडि यसलाई अर्थशास्त्र र भौतिकशास्त्रबीचको अन्तर–विद्या विज्ञानको रूपमा लिइयो।

भौतिक विज्ञानको क्षेत्रमा खास गरी तथ्याङ्क शास्त्रीय यन्त्रिकीमा स्थापित मान्यता र विश्लेषण गर्ने तरिकाहरूलाई कसरी अर्थशास्त्रमा पनि प्रयोग गर्न सकिन्छ भनेर केही भौतिकशास्त्रीहरू लागिपरे। अर्थशास्त्रका समस्याहरू पनि नजिकबाट नियालेका उनीहरूले ‘इकोनोफिजिक्स’को विकास गर्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

यदि कुनै आर्थिक मोडल विकास गरी त्यसलाई सही छ भनेर मानियो भने हाम्रो पहिलेको धारणामा परिवर्तन आउँछ। त्यसमा नयाँ मोडलअनुसारको फरक–फरक बुझाइहरू पनि हुन्छन् र तिनै फरक–फरक विश्लेषणको अन्तरक्रियाको प्रभावले उक्त मोडल अभ्यासमा ल्याउँदा सोचेजति सही हुन छोड्छ। स्टक मार्केटको सवालमा यो निकै लागू हुन्छ।

केही वर्षयता अर्थशास्त्री र भौतिकशास्त्रीहरू संयुक्तरूपमा बजारले कसरी काम गर्छ भन्ने कुरालाई व्याख्या गर्न तथ्याङ्कलाई विश्लेषण गरेर र भौतिक विज्ञानमा स्थापित सिद्धान्तहरूसित तुलना गरेर बजारको लागि उपयुक्त मोडलहरू तयार गर्न कोशिश गरिरहेका छन्।

अर्थशास्त्र आफैंमा गतिशील विषय भएकोले समाजको आयाम परिवर्तन हुँदै जाँदा हिजो स्थापित सिद्धान्तहरू आज असान्दर्भिक भइदिन्छन्। पछिल्ला केही दशकयता विज्ञान प्रविधिको तीव्र विकासले परम्परागत आर्थिक प्रणालीलाई नयाँ प्रणालीमा सङ्क्रमण हुन बाध्य पारेको छ भने अर्कोतिर औद्योगिक उत्पादनका लाखौं विविध ‘वस्तु/माल’ अनि सेवा क्षेत्रमा आएका लाखौं विविध आवश्यकताअनुसारका ‘सेवाहरू’ले विश्व अर्थतन्त्रमा आर्थिक क्रियाकलापका एजेन्टहरूको संख्या पनि निकै ठूलो हुँदै गएको छ।

आर्थिक क्रियाकलापमा सक्रिय एजेन्टहरू र इकाइहरूको अन्तरक्रियालाई हामीले भौतिक विज्ञानमा अध्ययन गर्ने कुनै प्रणालीभित्रको ठूलो संख्यामा रहेका सूक्ष्म कणहरूको अन्तरक्रियासित दाँजेर हेर्दा थुप्रै कुरामा करिब–करिब उस्तै चरित्रको नतिजा अनि केही खास–खास तथ्याङ्क शास्त्रीय यान्त्रिकीका नियमहरू अर्थशास्त्रको क्षेत्रमा पनि लागू भएको पाइन्छ।

उदाहरणको लागि आर्थिक क्रियाकलापमा सरिक प्रत्येक व्यक्ति वा एकाइलाई एउटा कण मान्ने हो भने राम्रो आम्दानी भएको समाजमा मानिसको सम्पत्तिको वितरण र आम्दानीको वितरणको पद्धति ‘ग्यासका कणहरूको गति सिद्धान्त’ अनुसार हुने ग्यासका कणहरूको गति शक्ति वितरण पद्धतिसित मेल खान्छ। यसले आम्दानीको वितरण हुने प्रणाली कसरी स्थापित छ र असमानतालाई अपेक्षितरूपमा घटाउन के गर्न सकिन्छ भन्ने कुराको लागि विश्लेषण गर्न सहयोग गर्छ।

हाम्रो जस्तो जातीय विविधता रहेको समाजमा यदि कुनै खास–खास जाति/समुदायमा असमानता घटेको छ र बाँकी स्थिर छ भने आम्दानीको वितरण र सामाजिक असमानताको सूचक ‘गिनी गुणाङ्क’ले वास्तविक अवस्थालाई सही ढंगले प्रतिनिधित्व नगर्न पनि सक्छ। यस्तो अवस्थामा आम्दानी वितरणको मोडल विकास गर्न जरुरी हुन्छ।

ग्यासमा लागू हुने सिद्धान्तमा ‘तापक्रम’ले कणहरूको शक्ति निर्धारण गरेजस्तै अर्थशास्त्रमा ‘मुद्रा’ले आम्दानी वितरणलाई निर्धारण गर्छ भन्ने कुरालाई ‘पारेटो डिस्ट्रिब्युसन’को समीकरणले देखाउँछ। अहिले पर्यावरणमा देखिएको गम्भीर समस्यालाई हल गर्न ‘न्यून कार्बन अर्थतन्त्र’को अवधारणा आइरहेको छ। यसको लागि न्यून कार्बन उत्सर्जन गर्ने प्रविधि विकास गर्नुपर्छ।

सफा ऊर्जाबाट चल्ने अर्थात् न्यून कार्बन उत्सर्जन गर्ने प्रविधिबाट गरिबी र असमानता पनि हल गर्ने गरी न्यून आम्दानी हुने तप्काले लाभ लिन सक्ने उचित ढंगको आम्दानीको वितरण प्रणाली अबका आर्थिक मोडलहरूमा हुन जरुरी छ।के बजारकोे जोखिम र शेयर बजारबारे भौतिकशास्त्रीहरूले गर्ने अन्दाज बढी विश्वसनीय हुन्छ त ?

अनिश्चितताको सिद्धान्तले हामीलाई कुनै सूक्ष्म कणको स्थान र गति एकैसाथ किटान गर्न असमर्थ तुल्याएको छ। सम्भाव्यताको सिद्धान्तमा आधारित क्वान्टम मेकानिक्सका सूत्राधारमध्येका एक भौतिकशास्त्रका वैज्ञानिक हाइजेन वर्गको आनिश्चितताको सिद्धान्तलाई अपेक्षित नतिजा के हुन सक्छ भन्ने अवस्थामा प्रयोग गर्न सकिन्छ तर निश्चित हदसम्म मात्र। जब हामी कुनै सूक्ष्म कणको स्थान किटान गर्न खोज्छौं, त्यस बेला त्यसको गतिको अनिश्चितता बढ्छ। यदि गति किटान गर्न खोज्यो भने स्थानको अनिश्चितता बढ्छ।

यसो हुनुमा स्थान र गति मापनको लागि गरिएको व्यवस्था, हेर्ने व्यक्तिको वा अन्य शक्तिको अन्तरक्रियाको कारण उक्त कणको स्थान र गति प्रभावित भइदिन्छ र वास्ताविक अवस्था किटान गर्न गाह्रो हुन्छ। यसलाई सम्भाव्यताको आधारमा मात्रै प्रस्तुत गरिन्छ। अर्थशास्त्रमा यो सिद्धान्तलाई तुलना गर्दा सामान्य अवस्थामा आर्थिक संकट (कतिपय अवस्थामा जोखिम) लाई किटान गर्न मुस्किल हुन्छ।

आर्थिक संकटका बारेमा व्याख्या गर्नेहरूका थरी–थरीका अवधारणाकै कारण हाम्रा ‘विवेकपूर्ण अपेक्षा’ प्रभावित भइदिन्छन्। यदि कुनै आर्थिक मोडल विकास गरी त्यसलाई सही छ भनेर मानियो भने हाम्रो पहिलेको धारणामा परिवर्तन आउँछ। त्यसमा नयाँ मोडलअनुसारको फरक–फरक बुझाइहरू पनि हुन्छन् र तिनै फरक–फरक विश्लेषणको अन्तरक्रियाको प्रभावले उक्त मोडल अभ्यासमा ल्याउँदा सोचेजति सही हुन छोड्छ।

स्टक मार्केटको सवालमा यो निकै लागू हुन्छ। यसको अर्थ विवेकपूर्ण अपेक्षाको लागि गरिने विवेकपूर्ण निर्णयले काम नगर्न पनि सक्छ, अनिश्चितता रहन्छ। कुनै बेला आइज्याक न्युटनले समेत शेयरमा थुप्रै पैसा गुमाएका थिए। उनले भनेका थिए, ‘मैले तमाम खगोलीय पिण्डहरूका गतिको हिसाब गर्न सक्छु तर मानिसको पागलपनको सक्दिन।’ त्यसो हो भने के भौतिकशास्त्रीहरू स्टक मार्केटको विश्लेषण गर्ने सवालमा अन्य सामान्य विश्लेषकजस्तै हुन्छन् त ?

पछिल्ला केही वर्षयता अमेरिकाको वाल स्ट्रिटमा थुप्रै प्रतिभाशाली भौतिकशास्त्रीहरू शक्तिशाली कम्प्युटरसहित ठूलो स्केलका तथ्याङ्कका विश्लेषण गर्न व्यस्त छन् भन्ने समाचारहरू आइरहेका छन्। खास गरी मानिसका आनिबानी, चालचलन, भावना आदिसित सम्बन्धित आर्थिक क्रियाकलाप, राजनीतिक प्रभाव, विश्लेषकका भनाइहरू अनि भीडमा फैलने हल्लाहरू आदिले निर्धारण हुने शेयर बजारमा भौतिकशास्त्रीहरू बजारले कसरी काम गर्छ भनेर अनुमान लगाउन सक्रिय हुनुको पछाडि अस्तव्यस्त देखिने प्रणालीमा पनि कुनै सिद्धान्त वा कारण भेटिन्छ भन्ने विश्वास हो।

जस्तो– अल्बर्ट आइन्सटाइनले पत्ता लगाएको ‘ब्राउनिअन मोसन’ सम्बन्धी सिद्धान्तअनुसार हामीले चुरोट तानेर धुवाँ उडायौँ भने जतासुकै उड्न सक्ने धुवाँका कणहरू भद्रगोल देखिन्छन् तर ती कणको गतिलाई पनि व्यख्या गर्न सकिन्छ। स्टक मार्केटमा भौतिकशास्त्रीहरू शेयरको मूल्य उतारचढाव ल्याउन सक्ने कारणमध्ये केहीलाई विश्लेषण गरेर व्याख्या गर्न र बजारले कसरी काम गर्न सक्छ भनेर मोडलहरू विकास गर्न सक्छन्, भलै त्यसका सीमाहरू पनि थुप्रै हुन सक्छन्।

भौतिक विज्ञानको अध्ययन गर्दा थुप्रै प्रक्रियाहरूमा सामान्य वितरण (नर्मल डिस्ट्रिब्युसन) को वक्ररेखा देखिन्छ। बजारका आर्थिक गतिविधिमा पनि थुप्रै सामान्य वितरणका वक्ररेखा देखिन्छन् तर त्यसको पुच्छर (फ्याट टेल) धेरै लामो हुने गर्छन्। ‘फ्याट टेल’ले जोखिम र अनिश्चिततालाई संकेत गर्ने अर्थशास्त्रीहरू बताउँछन्।

भौतिकशास्त्रीहरूले घट्दो सम्भाव्यताको वक्ररेखा अर्थात् फ्याट टेललाई भौतिक विज्ञानमा स्थापित ‘पावर ल’को वक्ररेखासित दाँजेर त्यसको समीकरणसित मेल खाने समीकरण परिभाषित गरी बजारको अन्तरसम्बन्धलाई विश्लेषण गर्छन्। ‘सबल बजारको परिकल्पना’ अनुसार बजारको संरचना राम्रोसित स्थापित छैन र कमजोर छ भने त्यस खालको बजारमा अनिश्चितता, जोखिम, एकाधिकार, महँगी हाबी हुन्छ।

यस्तो बजारमा अपेक्षित परिणाम निकाल्न गाह्रो हुन्छ। यस कारण बजारको स्थायित्वको लागि निगरानी र अनुगमन आवश्यक ठानिन्छ। बजारले आफ्नो स्थायित्व ग्रहण गर्न एजेन्टहरूबाट ‘न्यूनतम हस्तक्षेप’ हुनुपर्छ। भौतिक विज्ञानको सिद्धान्तअनुसार कुनै पनि प्रणालीले ‘न्यूनतम शक्ति’को अवस्थामा मात्रै स्थायित्व ग्रहण गर्छ भन्ने कुरा बजारसित दाँजेर हेर्न सकिन्छ।

हामीले अपनाउँदै आएको खुल्ला बजार र उदारीकरणले आर्थिक प्रणालीभित्र सक्रिय एजेन्टहरूको नियमन नहुँदा बजारमा उत्पन्न अनिश्चितता र एकाधिकारले बजार कमजोर बन्दै जान्छ अनि असमानता पनि बढ्दै जान्छ। यसले खुल्ला बजार र उदारीकरणको आर्थिक नीतिमा पुनर्विचार गर्न आवश्यक देखाउँछ।

नेपालको सन्दर्भमा ‘व्यवहार अर्थशास्त्र’को प्रभाव धेरै नै देखिन्छ। दशकौंदेखिका राजनीतिक संघर्षसितै उठेका आर्थिक रूपान्तरणका मुद्दाले अझै पनि सही दिशा पक्रिन सकेको छैन। राजनीनिक विषयहरू आधिकांश व्यवस्थापन भए पनि आर्थिक मुद्दाहरूको हकमा नेपालीहरूले सिकेका (सिकाइएका) थुप्रै कुरा आफैंमा विवादास्पद देखिन्छन्।

ट्रेड युनियनको अधिकारको व्याख्या उचित किसिमले नहुँदा औद्योगिक क्षेत्र र लगानीकर्ताहरू सशंकित हुने, साना र घरेलु उद्यमको लागि प्रदान गरिएको कर्जाको हकमा इमानदारिताको अभाव, साधान–स्रोतले थेग्ने वा नथेग्ने कुराको ख्यालै नगरी माग (वितरण) गरिएका सामाजिक सुरक्षा भत्ता, कृषि क्षेत्रको अनुदानमाथि भएको चरम दुरूपयोग आदिलाई हेर्दा नेपालीमा आर्थिक समृद्धिको दिशामा अघि बढ्नको लागि तय हुनुपर्ने मनोविज्ञान ‘नकारात्मक’ रहेको छ।

उदाहरणको लागि बंगलादेशका अर्थशास्त्रमा नोबल पुरस्कार विजेता मोहम्मद युनुसले गरिबहरूको आर्थिक अवस्था उकास्न बंगलादेशमा ग्रामीण विकास बैंकमार्फत ल्याएको लघु वित्त कार्यक्रममार्फत प्रदान गरिएको सानो स्केलको ऋणबाट थुप्रै गरिब लाभान्वित भएको पाइयो र कार्यक्रमले सफलता पायो। तर नेपालमा कृषि विकास बंैक र बंगलादेशकै जस्तो ग्रामीण विकास बंैकको अवधारणाअनुसारको कार्यक्रम खासै सफल देखिएन।

अधिकांशले ऋण तिर्ने सोचाइ नै राखेनन्, सरकारी रकम ठग्नुपर्छ या मिनाहा हुनुपर्छ भन्ने मानसिकता पो स्थापित हुन गयो। अहिले प्रायः बैंकहरू कृषि क्षेत्रमा ऋण प्रदान गर्न आनाकानी गर्नुको कारण नेपालीमा रहेको नकारात्मक मानसिकता पनि एउटा हो। यी कुरा भौतिकशास्त्र र अर्थशास्त्रका सिद्धान्तहरूले हल गर्न मुस्किल हुन्छ। यसको समाधान राजनीतिक–अर्थशास्त्री र व्यवहार–अर्थशास्त्रीहरूको छलफलबाट खोजिनुपर्छ।

प्रविधिले विश्व अर्थतन्त्रलाई डोर्याउँदै लगेको अवस्थामा आगामी दिनमा तय गरिने थुप्रै आर्थिक मोडलहरूमा भौतिक विज्ञानका कैयौं ज्ञान प्रयोग हुनेछन्। साथै अर्थतन्त्रको व्याख्या गर्न र नीतिहरू तय गर्न परम्परागत अर्थशास्त्रीहरू मात्रै पर्याप्त हुने छैनन्, भौतिकशास्त्री एवम् प्रोग्रामरहरू पनि अगाडि आउनेछन्।
(लेखक अधिकारी त्रि.वि., अमृत क्याम्पसमा प्राध्यापन गर्नुहुन्छ।)