गुणस्तरयुक्त ड्याम बनाउन स्थानीयको खबरदारी

0
Shares

विजय नेपाली, पोखरा।

फेवाताल जोगाउनका लागि यसको सिरानमा बनाउन लागिएको निर्माणाधीन सिल्ट्रेसन ड्याममा प्रयोग गरिएको सामग्री गुणस्तरहीन भएको कारण देखाई स्थानीयले विरोध गरेका छन्।

पोखरा महानगर र गण्डकी प्रदेश सरकारको समन्वयमा निर्माण गर्न लागिएको उक्त ड्याममा प्रयोग गरिएको बालुवा गुणस्तरहीन भएकाले करिब ७ सय घरधुरीलाई प्रत्यक्ष असर पार्ने स्थानीयको आरोप छ।

रामसार क्षेत्रमा सूचीकृत फेवाताल पुरिने क्रम रोक्न ५ वटा खोला हुँदै तालमा मिसिने गेग्रयान रोक्न २८ करोड १६ लाख रुपियाँ लागतमा पहिलोचरणमा उक्त सिल्ट्रेसन ड्याम निर्माण शुरू गरिएको हो।

फेवाताल जलाधार क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत पोखरा–२४ पामेस्थित बेतयनी खोला एक र दुई, लौरुक, पोखरा २३ र २४ को अँधेरी तथा पोखरा २३कै हर्पन खोला घाँटीछिनामा उक्त ड्ययाम बनाइँदै छ।

यीमध्ये बेतयनी खोलाको जिम्मा स्याङ्जाको श्री गीता र जयनेपाल ईश्वर जेभी, लौरुक खोला, अँधेरी खोला र हर्पन खोलाको खड्का कृष्ण तथा पीके जेभी दाङले निर्माण ठेक्का पाएका छन्।

बेतयानीमा ५ करोड ४६ लाख ५८ हजारमा दुइटा, घाँटीछिनामा ७ करोड ८८ लाख ६२ हजारमा एउटा, लौरुकमा ५ करोड ७४ लाख ८४ हजारमा एउटा र अँधेरीकुनामा ९ करोड ६ लाख ४ हजारमा एउटा ड्याम बन्नेछन्। तर बनाइँदै गरेको ड्याममा उचित मात्रामा सिमेन्टको प्रयोग नगरिएको र ड्यामको भित्र ढुंगा मात्र राखिएको स्थानीयले बताएका छन्।

बारम्बार बालुवा धोएर राख्न आग्रह गर्दा पनि निर्माण कम्पनीले सुन्ने कान नलगाएको स्थानीयबासीको गुनासो छ। २३ वडाका वडासदस्य भरतराज भण्डारीले ड्यामले ठूलो क्षति निम्त्याउने खतरा रहेको बताउँदै भन्नुभयो– ‘हामीले विकास रोक्न खोजेका होइनौं, गुणस्तरीय विकास हुनुपर्छ भनेका हौं।’

हाल पोखरा–२३ अँधेरी खोला र हर्पन खोलामा निर्मित ड्याम गुणस्तरहीन भएको उहाँले बताउँदै अँधेरी खोलाको बाँधमा माटोको मात्रा रहेको बालुवा मिसावट गरिएको, बाँधको भित्री तहमा पनि ढुंगामात्र राखिएको र सिमेन्ट नहालिएको गुनासो पोख्नुभयो।

स्थानीय प्रेम भण्डारीले ०७२ सालको जस्तै बाढी आए उक्त बाँध भत्किने दावी गर्दै पाँगो माटोले बनेकाले बाँध दीर्घकालीन नहुने ठोकुवा गर्नुभयो।
पोखरा महानगरका इन्जिनियर खेम तिमिल्सिनाले आफूले मिसावट बालुवाको प्रयोग भएकाले काम रोकेको बताउँदै बाँध अवलोकन गरी गुणस्तरमा ध्यान दिने प्रतिवद्धता जनाउनुभयो।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले एक दुई दिनमै निरीक्षण गरी प्राविधिक रुपमा गुणस्तर र दीर्घकालीन बाँध निर्माण गर्ने दावी गर्नुभयो।