चीनबाट फर्काइने नेपालीप्रति असहिष्णु अभिव्यक्ति

स्थानीयसँग परामर्शपछि निर्णय लिन सरकारलाई सुझाव

0
Shares

कपिल काफ्ले, काठमाडौं।

चीनमा रहेका नेपालीलाई कोरोना भाइरस निर्मूल नभएसम्म घर फर्किन दिनुहुन्न भन्ने हदसम्मका ‘जनप्रतिनिधि’ पनि फेला परेका छन्। फर्काउने नै हो भने हाम्रो गाउँ–बस्तीमा राख्नुहुन्न भन्ने ‘समाजसेवी’ पनि देखिएका छन्। मानवीय संवेदनाको शून्य स्थिति मात्र होइन स्वार्थीपनको पराकाष्टा पनि छताछुल्ल भएको छ।

वैदेशिक हस्तक्षेपका बारेमा तीखो टिप्पणी गर्ने नेपाल मजदुर किसान पार्टीका अध्यक्षसमेत रहेका ‘देशभक्त’ विजुक्छेले चीनमा रहेका विद्यार्थी र अन्य नेपालीका अभिभावक र परिवारका सदस्यलाई आफन्त घर नफर्किंदा पर्ने मानसिक चोटका बारेमा कुनै ध्यान दिनुभएन।

उमेरले निकै पाको व्यक्तिमा मानवीय संवेदना अझ बढी हुन्छ भन्ने आमविश्वास पनि ज्येष्ठ नेता नारायणमान विजुक्छेको टिप्पणीले गलत साबित गरिदियो। विजुक्छेले भन्नुभयो– ‘चीनबाट फर्काइने नेपालीलाई काठमाडौंमै राख्नुहुन्न, महामारी फैलिने सम्भावना हुन्छ, बरु उनीहरूलाई उतै चीनमै उपचार गराएर निको पार्नुपर्छ।’

वैदेशिक हस्तक्षेपका बारेमा तीखो टिप्पणी गर्ने नेपाल मजदुर किसान पार्टीका अध्यक्षसमेत रहेका ‘देशभक्त’ विजुक्छेले चीनमा रहेका विद्यार्थी र अन्य नेपालीका अभिभावक र परिवारका सदस्यलाई आफन्त घर नफर्किंदा पर्ने मानसिक चोटका बारेमा कुनै ध्यान दिनुभएन।

विद्यार्थीका अभिभावकले आफ्ना छोराछोरी छिटो फर्काइदिन सरकारसमक्ष धर्ना–अपिल गरेको प्रमाण हेर्नुभएन, बरु प्रमाण नै नभएको तर्कचाहिँ दिनुभयो– ‘चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात रहेको हुनसक्छ!’

नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै विजुक्छेले ‘अमेरिकाले विभिन्न देशसँग आफूले कुनै पनि तरिकाले जित्न नसकेपछि विभिन्न भाइरस र रोग फैलाउँदै विश्व राजनीति गर्दै आएको’ दाबी गर्नुभयो।

चीनबाट फर्काइने नेपालीलाई निगरानी तथा परीक्षणका लागि दुई सातासम्म ‘क्वारेन्टाइन’मा राख्ने र काठमाडौंको शिवपुरी र इचङ्गुनारायण तथा भक्तपुरको सूर्यविनायक र खरिपाटीमा सो केन्द्र खडा गर्ने सरकारी निर्णयपछि स्थानीय जनप्रतिनिधिहरू ‘मेरो क्षेत्रमा चाहिँ हुन्न’ भन्दै स्थानीय निकायमा दबाब दिन पुगेका छन्।

भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणमा क्यारेन्टाइन खडा गर्न लागिएकामा स्थानीय नेकपा, नेपाली कांग्रेस, राप्रपा संयुक्तलगायतले मानवबस्तीको बीचमा यस्तो सेन्टर राख्दा कोरोना भाइरसले महामारीको रूप लिनसक्छ भन्दै विरोध गरेका छन्। उनीहरूले चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलाई ज्ञापनपत्र पनि बुझाएका छन्।

‘स्थानीय जनतामा त्रसित मानसिकता छ, सरकारले राम्रोसँग परामर्श तथा अन्तरक्रिया गरेर आश्वस्त बनाउनसक्छ’, मेयर मिश्रले नेपाल समाचारपत्रलाई बताउनुभयो– ‘सरकार–जनता दुवै मिलेर यस समस्याको समाधान खोज्नुपर्छ।’ नगरसभा चलिरहेका बेला स्थानीय जनताको ज्ञापनपत्र आएको, उनीहरूको चासोलाई सम्बोधन गर्दै चार बुँदे निर्णय पनि गरेको मिश्रले जानकारी गराउनुभयो।

उहाँका अनुसार, असल छिमेकी चीनले कोरोना भाइरसका कारण समस्या भोगिरहेकामा समानुभूति तथा ऐक्यबद्धता प्रकट गर्ने, चीनमा रहेका नेपाली विद्यार्थी तथा अन्य नागरिकलाई अविलम्ब स्वदेश फर्काउन सरकारलाई आग्रह गर्ने, घनाबस्तीका बीच क्यारेन्टाइन नबनाई बस्तीभन्दा टाढाको ठाउँ खोज्न सुझाव दिने र खरिपाटीमै त्यस्तो केन्द्र राख्नैपर्ने अवस्थामा स्थानीय जनतासँग परामर्श गरेर रोग संक्रमण नहुने सुनिश्चितताका लागि अनुरोध गर्ने निर्णय नगरसभाले गरेको छ।

‘कोरोना भाइरस लागेका विदेशी नागरिकलाई चीनले नै फर्काउँदैन, बिरामीलाई ल्याउन खोजिएकै होइन, सामान्य नागरिकलाई निगरानीका लागि दुई साता राखिने मात्र हो, तर सरकारले जनतासँग परामर्श नगरी निर्णय गरेका कारण अन्योल र त्रास बढेको हो।’ –मेयर मिश्रले भन्नुभयो।

बाह्य मुलुकमा बस्तीको बीचमै पनि क्वारेन्टाइन राखेको देखिन्छ। हङकङले चीन मुख्य भूमिबाट आफ्नो क्षेत्रमा आउने नागरिकलाई दुई साता निगरानी तथा परीक्षण केन्द्र ‘क्वारेन्टाइन’मा अनिवार्य रूपले राख्दै आएको छ।

हङकङ सरकारले होटेल र अन्य आवास केन्द्रलाई पनि चीन मुख्यभूमिबाट आएका नागरिकलाई सोझै पाहुनाका रूपमा स्वीकार नगर्न कडा आदेश दिएको छ। बीबीसीका अनुसार जसले यो नियम पालना गर्दैन उसलाई जरिवाना तथा कैद गर्नेसमेतको व्यवस्था गरिएको छ।

शनिबारसम्म कोरोना भाइरसका कारण ७ सय २३ को मृत्यु भएको छ, जसमा एक अमेरिकी र एक जापानी नागरिक रहेको बीबीसीले जनाएको छ। ६० वर्षीय अमेरिकी नागरिक कोरोना भाइरसबाट मर्ने पहिलो गैरचिनियाँ भएको पनि जनाइएको छ।

उनको उहानस्थित जिङयिङटन अस्पतालमा बिहीबार मृत्यु भएको हो। जापानी विदेश मन्त्रालयले ६०कै दशकका आफ्ना नागरिकको पनि मृत्यु भएको जनाएको छ, तर मृत्युको कारण भाइरस नै भए पनि त्यो कोरोना भाइरस नै भएको यकिन नभएको जनाएको छ।

उहानस्थित लिसेनसान अस्पतालले एक हजार पाँच सय बिरामीलाई भर्ना लिएर निगरानीमा राखेको छ। चीनमा ३४ हजार ५ सय ९८ लाई कोरोना भाइरस देखिएको र चीनबाहिर विश्वका २४ मुलुकमा २ सय ८८ लाई यो रोग लागेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

युरोपेली मुलुक फ्रान्समा ११ जनालाई यो रोग देखिएको छ। हङकङमा भने यस्ता बिरामीको संख्या २६ पुगेको छ।विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधानोम घेबे्रससका अनुसार गत शुक्रबारदेखि भने कोरोना भाइरसका बिरामीको संख्या घटेको छ। उहाँका अनुसार १७ बिरामीमध्ये ८२ प्रतिशत मध्यमस्तर, १५ प्रतिशत कडास्तर र ३ प्रतिशत गम्भीर अवस्थामा उपचाररत छन्।