संसद् बैठक : सभामुखले बोल्न दिनुभएन, उनीहरू बोलिरहे

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

प्रतिनिधिसभाको बैठक तेस्रोपटक स्थगित भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गत बिहीबारदेखि संसद् अवरुद्ध गर्दै आएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले ससंद्को कारबाही अघि बढाउनासाथ प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसलगत्तै सभामुख सापकोटाले तीनपटक बैठक अवरुद्ध भएकाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभए पनि सम्भव भएन।

सभामुखमा निर्वाचित भएपछि आफूलाई बधाई दिँदा सदन सञ्चालन निष्पक्ष होस् भनी कांग्रेसका सांसदहरूले दिएको सुझाव स्मरण गर्दै उहाँले सदन चल्न दिन अनुनयविनय गर्दा पनि हल्ला गरिरहे।

तैपनि सभामुख सापकोटा बोल्न छाड्नुभएन। उहाँ बोलिरहनुभयो– ‘दुईपटकसम्म सदनमा धारणा राखिसक्नुभयो। त्यसैले संवैधानिक आयोगको निर्णय र अदालत प्रवेश गरिसकेको विषयमा संसद् अवरुद्ध गरिरहनुको औचित्य रहँदैन।

सर्वोच्च जनप्रतिनिधि संस्था भएकाले आफ्नो सरोकार दलका भनाइ राख्नु पनि पर्छ तर दुई दिनसम्म तपाईंहरूले राख्नु पनि भएको छ, जनप्रतिनिधिमूलक थलो संसद्लाई गतिशील र चलायमान बनाइराख्नुपर्छ।’

दुईटा बैठकमा कांग्रेसका सांसदहरूलाई बोल्ने समय उपलब्ध गराउनुभएका सभामुख सापकोटाले आइतबार भने बोल्न नदिए पनि कांग्रेस सांसदहरू आ–आफ्नै ठाउँबाट उठेर बोलिरहेका थिए।

सभामुखले बारम्बार आग्रह गर्दा पनि कांग्रेस सांसदहरूले नटेरेपछि उक्त बैठक यही माघ २८ गतेसम्मका लागि स्थगित गर्नुभयो।