न्युज अफ नेपाल, हेटौंडा ।
चिउरीको फूलमा रमाउने स्तनधारी चरा चमेरोको ‘शिकार’ गरी मासु खाने प्रचलन रोक्न चेपाङबहुल मकवानपुरको एक गाउँपालिकाले आग्रह गरेको छ ।
चिउरी, चमेरो र चेपाङबीच निकट सम्बन्ध रहँदै आएको छ । यसका कारण चेपाङ समुदायमा लक्षित गरी चमेरोको शिकार गर्न नहुने सन्देश दिन गाउँपालिका सक्रिय देखिएको हो । चेपाङ समुदायले परापूर्वकालदेखि चमेरोको मासु खाने गरेका छन् ।
सबभन्दा बढी चमेरो पाइने बिकट राक्सिराङ गाउँपालिकाले चमेरोको मासु नखान स्थानीयलाई आग्रह गरेको छ । गाउँपालिकाको वडा–६, ७ र ८ का असंख्य गुफामा करिब ५० हजारभन्दा बढी चमेरो रहेको अनुमान छ ।
चीनमा कोरोना भाइरस चमेरोको मासुबाट फैलिएको थाहा भएपछि गाउँ कार्यपालिका बैठकले निर्णय गरेर चमेरोको ‘शिकार’ नगर्न स्थानीयलाई अनुरोध गरिएको हो । उक्त गाउँपालिकामा पाइने चमेरोको स्थानीयले ‘शिकार’ खेल्ने गरेका छन् ।
पृथ्वीको खाद्यचक्र, पारिस्थितिक प्रणाली, वातावरण सन्तुलनका लागि चमेरो निकै महत्वपूर्ण प्राणी भए पनि स्थानीयहरु चमेरो मारेर मासु खाने गर्दछन् । यसले कीराहरु खाएर बालीनाली जोगाउन सहयोग पु¥याउने भए पनि स्थानीयले वषौंदेखि चमेरोको ‘शिकार’ गर्न भने छाडेका छैनन् ।
छिमेकी देश चीनमा चमेरोको मासुबाट कोरोना भाइरस सरेको थाहा पाएपछि चमेरोको मासु खानबाट स्थानीयलाई रोक्ने प्रयत्न गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । अध्यक्ष मल्लले गाउँपालिकाले प्रत्येक विद्यालयमा पुगेर चमेरोका मासु खान नहुने सन्देश दिने बताउनुभयो ।
उक्त क्षेत्रमा पाइने चमेरोको रक्तपरीक्षण गर्दा खानयोग्य देखिए पनि कोरोना भाइरस चमेरोबाट नै सरेको थाहा पाएपछि स्थानीयलाई सचेत गराउन प्रयास थालिएको अध्यक्ष मल्लले बताउनुभयो ।
‘बायोडाइभर्सिटी प्रोफाइल प्रोजेक्ट, पब्लिकेसन नम्बर–६’ मा लेखिएअनुसार नेपाल सरकारका तर्फबाट सन् १९९५ मा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागले ३८ प्रजातिका चमेरो सूचीकृत गरेको थियो ।
राति सक्रिय हुने चमेरोले कीरा खान्छ र बालीनालीलाई नोक्सान हुनबाट जोगाउँछ । बालीनाली र वनस्पतिका लागिमात्र होइन, मानवका लागि हानिकारक विषालु कीरा पनि चमेरोले खाइदिन्छ । यसैले चमेरा वातावरण तथा मानिसका लागि आवश्यक प्राणीका रुपमा पनि चिनिन्छ ।
चमेरोबाट चिउरीलगायत करिब ७ सय प्रजातिका वनस्पतिमा परागसेचन हुन्छ । चिउरी उक्त क्षेमा प्रशस्त रोपिने बिरुवा हो ।
चिउरी पाक्ने याममा चेपाङका अनुहारमा खुशी छाउँछ । चेपाङले छोरीलाई दाइजोमा चिउरीको बिरुवा दिन्छन् । उनीहरु चिउरीको पातबाट बनेको टपरीमा भोजभतेर गर्छन् । चिउरीकै फलबाट रक्सी बनाउँछन् । चिउरीको बीउबाट घ्यु बनाएर त्यसको भुटुनमा तरकारी पकाउँछन् । टुकी बाल्नुपर्ने कतिपय ठाउँमा यसकै घ्युबाट बत्ती बालिन्छ ।
चुरे क्षेत्रमा पाइने चमेरोका लागि चिउरीको फूल आकर्षणको केन्द्र हुन्छ । यसको फल पाक्दा चमेराहरु झुण्डमै आउँछन् । चिउरीको एक पाथी बीउबाट झण्डै दुई किलो घ्यु उत्पादन हुन्छ । एउटा बोटबाट औसत ५० किलो बीउ उत्पादन हुन्छ ।
प्रतिक्रिया