कांग्रेसद्वारा संसद बैठक अवरुद्ध


सरोज यादव, विराटनगर ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक पनि अवरुद्ध गरेको छ । आइतबारको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसद उठेर बैठक अवरुद्ध गरेका थिए । प्रतिपक्षका सांसद उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले वस्न अनुरोध गर्नुभएको थियो ।

सभामुखले पटक पटक बस्न अनुरोध गरेपनि कांग्रेसका सांसदहरुले बस्न अटेर गरेपछि सभामुख भण्डारीले आफ्ना असन्तुष्टी बैठकमा राख्न प्रमुख प्रतिपक्षी दलका सचेतक सुयर्माराज राईलाई बोल्न समय दिनु भएको थियो । संसदमा बोल्दै सचेतक राईले नेकपाको संघिय सरकारले पक्षपात पूर्ण व्यवहार गरेको आरोप लगाउनु भयो ।

नेकपाको सरकारले ललिता निवास प्रकरणमा आफ्ना कार्यकर्तालाई उन्मिुक्ति दिने प्रयास गरेका कारण आन्दोलनमा उत्रनुपरेको उहाँले बताउनु भयो । राईले ललिता निबास प्रकरणमा नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधबकुमार नेपाल, बाबुराम भट्टराई, पूर्वमुख्यसचिव लिलामणी पौडेल, नेकपाका नेता विष्णु पौडेलका छोरा नविन पौडेललगायतलाई पनि मुद्धा चलाउन माग गर्नु भयो ।

सरकारले दोषीहरुलाई कानुनी दायरामा नल्याउन्जेल सम्म संसदबैठक अबरुद्ध गरिरहने कांग्रेस संसदीय दलको निर्णय भएको राईले बताउनु भयो । प्रमुख प्रतिपक्षीदलको तर्फबाट सचेतक राईले भनाई राखिसके पछि पुनः कांग्रेसका सांसदले उभिएर संसद अबरुद्ध पारेका थिए ।

सभामुख भण्डारीले सचेतकले आफ्ना कुरा राखिसकेका कारण बस्न आग्रह गर्नु भएको थियो । तर, कांग्रेसका सांसदले उभिएर बिरोध जनाईरहेपछि सभामुख भण्डारीले सोमबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनु भयो ।