चीनमा कोरोना भाइरस फैलनुको पछाडि अमेरीकाको हात हुनसक्ने : विजुक्छे

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनमा कोरोना भाइरस फैलाउनमा अमेरीकाको हात हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै विजुक्छेले चीनमा एक्कासी कोरोना भाइरस फैलनुमा आशंका व्यक्त गरेका हुन् । अमेरिकाले आफ्ना दाबेदार देशहरुसँगको प्रतिसपर्धामा जित्न नसकेपछि विभिन्न भाइरस र रोग फैलाउँदै विश्व राजनीति गर्दै आएको उनले बताए ।

चीनमा कोरोना भाइरस फैलिनुमा पनि अमेरिकाको हात रहेको हुन सक्ने विजुक्छेले बताए । यस्तै, कोरोना भाइरस लागेका संक्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारी नभएको बताउँदै विजुक्छेले नेपाली विद्यार्थीलाई स्वदेश फर्काउनु वुद्धिमानी नहुने समेत उल्लेख गरे ।

चीनमा रहेका नेपालीलाई स्वदेश फर्काइएमा महामारी फैलिने सम्भावना रहेको जनाउदै उनले भने , ‘काठमाडौं उपत्यकाका चार ठाउँ र भक्तपुरको दुई ठाउँमा राख्ने भनेका छन्, काठमाडौंमा राख्नु हुन्न, महामारी फैलिने सम्भावना हुन्छ, बरु ती विद्यार्थीलाई उतै चीनमै उपचार गराएर निको पार्नुपर्छ ।’