५ हजार भनेर प्रहरीलाई ३५ सय घुस दिन खोजेपछि…

0
Shares

भगवती तिमिल्सिना,काठमाडौं ।

एक त आफु गल्ती गर्ने त्यसमाथि प्रहरीलाई नै घुस दिन खोज्ने । अनि ५ हजार दिन्छु भनेर ३ हजार ५०० मात्रै दिने ? प्रहरीलाई हेप्नी ? शुक्रबार राती कोटेश्वरको वालकुमारी पुलमा चेकिङ्ग गर्न बसेका प्रहरीलाई मोटरसाइकलमा आएका दुईजना युवाले घुस दिन खोजेपछि शुक्रबार रातीदेखि उनीहरु कोटेश्वर प्रहरी प्रभागको छिँडीमा रात विताउन वाध्य भएका छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वर अन्तर्गत नरेफाँट प्रहरी प्रभागका प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) जयराम लामाको नेतृत्वमा रहेको प्रहरी टोलीले मोटरसाइकलमा आउँदै गरेका उदयपुरका २२ वर्षिय दिप्सन राई र मनिष खड्कामाथि चेकजाँच गर्दा उनीहरुबाट करीव २५० ग्राम गाँजा फेला परेपछि उनीहरुले प्रहरीलाई ५ हजार लिएर आफुहरुलाई छोड्न अनुनय विनय गरे ।

प्रहरीलाई घुस दिन खोजेपछि प्रसनि लामाको टोलीले राई र खड्कालाई पक्रेर महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा ल्याएर थप चेकजाँच गर्दा उनीहरुले प्रहरीलाई दिने भनेको ५ हजार घुसमा ३ हजार ५०० मात्रै फेला परेको थियो ।

यसैगरि कोटेश्वर प्रभागका हवल्दार कमल शिवाकोटीको टोलीले शुक्रबार राती नै जडिबुटीमा चेकिङ्ग गर्ने क्रममा काभ्रे पनौतिका २० वर्षिय मनोज बस्नेतलाई लागु औषध (६० ट्याब्लेट नाइट्रोभेट) सहित पक्राउ गरेकोमा नीजले पनि प्रहरीलाई १ हजार ५०० घुस दिन खोजेपछि उनलाई पक्राउ गरी हिरासतमा लिइएको छ ।

लागुपदार्थ गाँजा सहित पक्राउ परि प्रहरीलाई घुस दिन खोज्ने उदयपुरका राई र खड्का तथा लागुऔषध सहित पक्राउ परेका बस्नेत सहित तीनै जनालाई थप कारवाहीको लागि थुनामा राखिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक सुभद्रा वाइवा लामाले बताइन् ।

पछिल्लो समयमा विभिन्न कसुर गर्नेहरुले प्रहरीलाई घुस दिएर आफु भाग्ने प्रयास गर्ने गरेका घटना बढीरहेको र उनीहरुलाई पक्रेर कारवाही गर्ने गरेको प्रहरीको दावी छ ।