स्यान्टु र नवीता फाइनलमा पराजित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपालका शीर्ष खेलाडी स्यान्टु श्रेष्ठ र नवीता श्रेष्ठ फाइनलमा पराजित भएसँगै तेस्रो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा उपविजेतामा सीमित भएका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुष सिंगल्स फाइनलमा आदर्श ओम क्षेत्रीले नेपाल प्रहरीका स्यान्टुलाई ९–११, ११–८, १४–१२, ११–८, ६–११, ७–११ र ११–७ को सेटमा पराजित गरे।

एपीएफका अमरलाल मल्ल र काठमाडौंका चन्दन शाही तेस्रो भए। त्यस्तै महिला सिंगल्स फाइनलमा ममता प्रभुले प्रहरीकै नवीतालाई ११–४, ११–२, ११–५ र ११–७ को सोझो सेटमा हराइन्। नेपाल आर्मीकी रविना महर्जन र प्रहरीकी एलिना महर्जन तेस्रो स्थानमा रहे।

दुवै सिंगल्समा पहिलो हुनेले ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने दुई खेलाडीले समान १०–१० हजारका दरले नगद पुरस्कार प्राप्त गरे। सो अवसरमा विगत ४७ वर्षदेखि टेबलटेनिसमा सक्रिय अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यलाई ‘लाइफ टाइम एचिभ्मेन्ट अवार्ड’बाट सम्मान गरिएको थियो।

वज्राचार्य खेलाडीका रूपमा सागमा सर्वाधिक पदक जित्ने पुरुष टेबलटेनिस खेलाडी हुन्। उनले विभिन्न संस्करणको सागमा १ रजत र ४ कांस्य जितेका छन्। त्यसै अवसरमा १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता टेबलटेनिस खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पनि प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।